
काठमाडौं । नेकपा (एमाले) को नवौँ केन्द्रीय कमिटीको बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा फर्किने ब्रेक लगाएको छ ।
मंगलबार मध्यरात पूर्वराष्ट्रपति साझा व्यक्तित्व र देशको अभिभावक भएकाले दल विशेषको पार्टी सदस्य र कार्यकर्ता वा नेता हुन मिल्दैन भन्ने निष्कर्ष निकाल्दै एमालेले विद्याको एमालेमा सक्रिय राजनीतिमा ब्रेक लगाएको हो ।
च्यासलस्थित पार्टी मुख्यालयमा सम्पन्न दुई दिने बैठकले पूर्वराष्ट्रपति राजनीतिमा सक्रिय हुँदा जनतामा, प्रणालीमा व्यवस्थामा र संविधानको मर्म र भावनामा गलत अभ्यास हुने ठहर भएको निष्कर्ष निकालेको गौतमले विज्ञप्ती मार्फत जानकारी दिए ।
विज्ञप्तीमा लेखिएको छ,‘…मुलुकको राष्ट्राध्यक्ष, राष्ट्रिय एकताको प्रतिक संविधानको पालनकर्ता र संरक्षणकर्ता, सेनाको परमाधिपति, राष्ट्रिय गौरव, गणतन्त्रको प्रतिक, साझा व्यक्तित्व र देशको अभिभावक भएकाले कुनै पनि दलविशेषको पार्टी सदस्य र कार्यकर्ता वा नेता हुने कुरा यो गौरवमय जिम्मेवारी लिएको व्यक्तिवाट सम्भव हुँदैन र मिल्दैन भन्ने निष्कर्ष निकालेको छ। यसले जनतामा, प्रणालीमा व्यवस्थामा र संविधानको मर्म र भावनामा गलत अभ्यास हुने ठहर गरेको छ । त्यसकारण बैठकले पूर्व राष्ट्रपतिलाई उच्च सम्मान व्यक्त गर्ने निर्णय गरेको छ ।’
बैठकले विधान संशोधनसम्बन्धी प्रस्ताव सुझावसहित सर्वसम्मतिले पारित समेत गरेको छ ।
यो निर्णयसँगै एमालेमा फेरि विद्रोहको खतरा बढेको छ । बैठकमै उपाध्यक्ष सुरेन्द्र पाण्डे, प्रदिप ज्ञवालीलगायतका नेताहरुले खुलेरै अध्यक्ष ओलीको यो निर्णयको खेलेरै विरोध जनाएका थिए ।
त्यस्तै, वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले पनि विद्यालाई रोक्ने ओलीको कदमको विरोध जनाएका छन् ।
विद्यालाई एमालेले औपचारिक रुपमा रोक्ने निर्णय गरेसँगै असुन्तुष्ट नेताहरुबीच छलफल सुरु गरेका छन् ।