
पोखरा, असार १५ गते – हिमाल कलेज अफ म्यानेजमेन्ट, पोखराको आयोजनामा Himal Youth BIZ Festival 2082 भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा करिब ५००० बढी दर्शक र सहभागीहरूको उपस्थिति रहेको थियो।
यस फेस्टिवलमा १५ ओटा फरक–फरक व्यापारिक स्टलहरू को व्यवस्था गरिएको थियो, जसमा मुख्य रूपमा नेपालमै सिर्जनात्मक र उत्कृष्ट कार्य गरिरहेका युवाहरू, व्यवसायिक समूहहरू तथा संस्थाहरूको सहभागिता रहेको थियो।
कलेजले विद्यार्थीहरूलाई व्यवसायिक अवधारणासँग परिचित गराउनुका साथै आफ्नै माटो र संस्कृतिप्रति अभिमान जगाउने अवसर पनि प्रदान गरेको कलेजले जनाएको छ। विद्यार्थीहरूले आफैं स्टल सञ्चालन गरी आत्मनिर्भरता, उद्यमशीलता र नेतृत्व क्षमताको अभ्यास गर्ने मौका पाएका थिए।
कार्यक्रमको प्रमुख अतिथि को रूपमा गण्डकी प्रदेशका खानेपानी तथा उर्जा मन्त्री श्री फरिन्द्र देवकोटीले आफ्नो मन्तव्यमा भने: “युवाहरूको यस्तो सिर्जनशील प्रयासले मात्र देशले दिगो आर्थिक समृद्धिको यात्रा सुरु गर्न सक्छ। म हिमाल कलेज परिवारलाई यस्तो प्रेरणादायी कार्यक्रम सफलतापूर्वक आयोजना गरेकोमा हार्दिक बधाई दिन चाहन्छु।”
त्यसैगरी, वरिष्ठ अधिवक्ता तथा समाजिक अभियन्ता स्वागत नेपालले भने: “विद्यार्थी स्तरमै यस्ता व्यावसायिक र सिर्जनात्मक गतिविधिहरूले जिम्मेवार नागरिकको विकासमा मद्दत पुर्याउँछ। कलेजको यो प्रयास प्रशंसनीय छ।”
वरिष्ठ पत्रकार मनोज सापकोटाले पनि शुभकामना व्यक्त गर्दै भने: “आजका विद्यार्थीहरू भविष्यका अगुवा हुन्। यिनीहरूलाई यस्तो खुला मञ्च र व्यावसायिक अनुभव दिनु भविष्यप्रति लगानी गर्नु सरह हो। हिमाल कलेजको यो दृष्टिकोण अभिनन्दनीय छ।”
कार्यक्रममा क्याम्पस प्रमुख बिकल रानाभाटले कार्येक्रमको लक्ष्य केवल शिक्षा दिनु मात्र नभई व्यवहारिक ज्ञान र नेतृत्व कौशल विकास गर्नु रहे बताए । कार्यक्रम अध्यक्ष चेतनाथ भण्डारीले यस कार्यक्रम कलेजको ऐतिहासिक उपलब्धि भएको बताउदै कलेजले देखाएका उदाहरणहरूले अन्य शिक्षण संस्थाहरूलाई पनि यस्ता गतिविधिमा प्रेरित गर्ने मन्तव्य राखे ।
हिमाल कलेजले यो कार्यक्रमलाई विद्यालय र कलेज तहमै व्यवसायिकता र उद्यमशीलताको सुरुवात गराउने ऐतिहासिक प्रयासका रूपमा लिएको छ।