
काठमाडौँ। सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थुनामुक्त गर्न अस्वीकार गरेको छ ।
न्यायाधीशहरू नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले उच्च अदालत तुलसीपुरको बुटवल इजलासले दिएको आदेशलाई सदर गर्दै रास्वपा सभापति लामिछानेलाई थुनामुक्त गर्न अस्वीकार गरेको हो ।
लामिछानेको तर्फबाट उनकी श्रीमति निकिता पौडेलले गएको वैशाख ७ गते गैरकानुनी रुपमा आफ्ना श्रीमानलाई थुनामा राखेको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी हुन्।
रविका तर्फबाट वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले बहस गरेपछि पूर्वडीआईजी जोशीका कानुन व्यवसायीले बहस गरेका थिए ।
लामिछाने बुटवलको सुप्रिम सहकारी ठगीको आरोपमा रुपन्देहीको भैरहवा कारागारमा रहेका छन् । सर्वोच्चले पूर्वडीआईजी छविलाल जोशीलाई पनि थुनामा राख्ने आदेश सदर गरेको छ ।
यो मुद्दामा गएको माघ १३ गते रुपन्देही जिल्ला अदालतले लामिछानेलाई १ करोड रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो । यो आदेशविरुद्ध रुपन्देही सरकारी वकिलको कार्यालयले रिट दर्ता गरेकोमा पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो ।