
काभ्रे । काभ्रे जिल्लाको तेमाल गाउँपालिका वडा नं. ०३ कुँडुवालमा अवस्थित कालीदेवी प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई Higadoc Nepalले शैक्षिक साामग्री वितरण गरेको छ ।
एक कार्यक्रमका बीच Higadoc Nepalका अध्यक्ष प्रभात लामासहितले विद्यार्थीहरुलाई शैक्षिक सामग्री हस्तान्तरण गरेका हुन् ।
संस्थाले विद्यार्थीहरुलाई कम्प्युटर, झोला, स्टेशनरीसहित इन्टरनेट जडानका लािग चाहिने सम्पूर्ण सामग्री हस्तान्तरण गरेको संस्थाका अध्यक्ष प्रभात लामाले जानकारी दिए । शैक्षिक सामग्री हस्तान्तरणमा पूर्व मिस तामाङहरु सफलता थिङ, रिया लामा, मिस तामाङ २०२४ का फस्ट रनर अप स्मृति योञ्जन तामाङ, कलाकार दिलिप तामाङ ‘हुरहुरे’ लगायत उपस्थित थिए । संस्थाका सचिव ज्वाला लाल तामाङका अनुसार विद्यालयको शैक्षिक सुधारका लागि टेवा पुर्याउने हेतुले संस्थाले विद्यालयलाई शैक्षिक सामग्री वितरण गरेको हो ।
वडाध्यक्ष विष्णु बहादुर तामाङले आफ्नो वडामा शैक्षिक सामग्री हस्तान्तरण गरी विद्यालयको शैक्षिक सुधारमा इँटा थप्न सहयोग गरेकोमा संस्थालाई धन्यवाद दिए । विद्यालयकी प्रधानाध्यापक उर्मिला कार्कीले विद्यालयले प्राप्त गरेको शैक्षिक सामग्रीका कारण पठनपाठन र शैक्षिक गुणस्तर वृद्धिका लागि सहयोग पुग्ने विश्वास व्यक्त गरिन् । उनले भनिन्, ‘हाम्रो विद्यालयका निम्ति Higadoc Nepalले गरेको यो सहयोग महत्वको छ, म संस्थालाई धन्यवाद भन्न चाहन्छु, यो सहयोगले हाम्रो विद्यालयको शैक्षिक स्तर वृद्धिका लागि पक्कै मद्दत पुग्छ ।’ शैक्षिक सहयोग हस्तान्तरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कर्मध्वज तामाङसहित व्यवस्थापन समितिका अन्य सदस्य, शिक्षक र अभिभावकहरुको उपस्थिति थियो ।