काठमाडौं महानगरपालिका वडा नं १६ बालाजु स्थित शितला माध्यमिक विद्यालयलाई विभिन्न संघ संस्थाहरूसँगको सहकार्यमा भौतिक व्यवस्थापन तथा शैक्षिक उन्नयनका लागि सहयोग गर्दै आएकी समाजसेवी प्रतिभा रिजालको सक्रियता र शिवपुरी माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक दिवाकर दुरदर्शी, रानीवारी मा.वि. का पूर्व प्रधानाध्यापक रामजी गौतमको समेतको सहकार्यमा लालुपाते ड्रप छात्रवृत्ती कोषको स्थापना गरिएको छ ।
२०८१ चैत्र ७ गते विहान एक कार्यक्रमका वीच विद्यालयका प्रधानाध्यापक लक्ष्मण श्रेष्ठलाई एक लाख पाँच रुपैया हस्तान्तरण गरिएको छ । समाजसेवी त्रय प्रतिभा रिजाल, दिवाकर दुरदर्शी, रामजी गौतमको सकृयतामा जापनी नागरिक स्वर्गीय ओनाका युकारीको आर्थिक सहयोगमा ३ गुणा रकम थप गरि विद्यालयलाई एक कार्यक्रमकावीच सो रकम हस्तान्तरण गरियो । विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि तथा शिक्षकहरूको उपस्थितिमा सो कार्यक्रम सम्पन्न गरिएको थियो ।
रकम हस्तान्तरण कार्यक्रममा दाताहरूका तर्फबाट प्रतिभा रिजाल, दिवाकर दुरदशी तथा रामजी गौतमले कोष स्थापनाको उद्देश्य र औचित्य प्रष्ट्याएका थिए । उक्त कार्यक्रममा बोल्दै रिजालले आफूले विद्यालयमा अध्ययनरत विद्यार्थीको शैक्षिक विकासका लागि कोष स्थापना गर्ने लामो समय देखिको इच्छा पुरा भएको र विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि थप सहयोग गर्दै जाने कुरा बताइन् । दिवाकर दुरदर्शी र रामजी गौतमले कोष स्थापनाले कमजोर आर्थिक अवस्था भएका बालबालिकाको अध्ययनमा सहयोग पुग्ने विश्वास लिएको कुरा बताएका थिए । विद्यालयका सहायक प्र अ ईश्वरी अधिकारीले दाताहरूलाई धन्यवाद दिँदै उक्त कोषलाई अक्षय कोषको रूपमा स्थापना गरी रकमको सही सदुपयोग गरिने विश्वास व्यक्त गरेका थिए ।
विद्यालयका प्रधानाध्यापक लक्ष्मण श्रेष्ठले विभिन्न संघसंस्थासँग हातेमालो गर्दै विद्यालयको शैक्षिक उन्नति र प्रगतिमा लाग्ने चाहनालाई पूरा गर्न यो रकमले सहयोग गरेको विचार व्यक्त गरेका थिए। शिक्षक अभिभावक संघका अध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका सदस्य जगदिश श्रेष्ठ बलामीले कोष स्थापनाले आफूलाई हौसला मिलेको भन्दै सो कोषमा आफ्नो तर्फबाट रकम थप गर्नुभएको थियो । सोही कार्यक्रममा विद्यालयका प्राथमिक तह इन्चार्ज तथा कृण्ण मन्दिर आधारभुत विद्यालयकी पूर्व प्रधानाध्यापक देबु कुमारी शर्माले विद्यालयको बालवालिकाहरुको लागि छात्रवृत्ती, विद्यालय पोषाक, स्टेशनरी तथा न्यानो कपडा उपलव्ध गराएकोमा सम्मान तथा वधाइ ज्ञापन गरिएको थियो ।
विद्यालयका पूर्व प्रअ तथा विद्यालय व्यवस्थापन समितिका सदस्य शुक्रलाल श्रेष्ठले कार्यक्रमको समापन गर्दै विद्यालय स्थापित कोषलाई थप मजबुत बनाउन आफ्नो तर्फबाट थप रकम सङ्कलन गरी हस्तान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          

अनलाइन डबली




