आज :

“माओवादीको आगामी चुनावी यात्रा: एकल कि गठबन्धन ?”

  • देविराम देवकोटा

नेकपा (माओवादी केन्द्र)ले पछिल्ला वर्षहरूमा विभिन्न दलहरूसँग गठबन्धन गर्दै चुनाव लड्दै आएको छ। २०७४ सालपछि माओवादी कहिले नेपाली कांग्रेससँग त कहिले नेकपा (एमाले)सँग मिलेर चुनावमा गयो। तर, यस्तो गठबन्धनले माओवादीलाई बलियो बनायो कि झन् कमजोर बनायो भन्ने प्रश्न अहिले स्पष्ट भैरहेको छ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले हालसालैका विभिन्न कार्यक्रमहरूमा यो स्वीकार गर्न थालेका छन् कि अघिल्ला निर्वाचनहरूमा कांग्रेस र एमालेसँग सहकार्य गर्दा माओवादीलाई घाटा भयो। कहिले कांग्रेससँग त कहिले एमालेसँग तालमेल गर्दा माओवादीको आफ्नै एजेन्डा हराएको महसुस भयो। जनताले पनि माओवादीलाई अब कांग्रेस र एमालेभन्दा भिन्न रूपमा हेर्न छोडे।

२०७२ सालमा संविधान जारी भएपछि पहिलो पटक भएको स्थानीय तहको चुनावमा माओवादीले कांग्रेससँग गठबन्धन गर्‍यो। त्यसपछि २०७४ सालको प्रतिनिधिसभा चुनावमा एमालेसँग मिलेर चुनाव लड्यो। २०७९ सालमा फेरि कांग्रेससँग मिलेर चुनावमा गयो। यसरी पटक-पटक फरक दलहरूसँग मिल्दा माओवादीले न त आफ्ना पुराना मुद्दाहरूलाई अगाडि बढाउन सक्यो, न त आफ्नो मौलिक विचारधारालाई स्थापित गर्न। जनताले चाहेको एमाले, काङ्ग्रेसभन्दा जनताको समस्यामा साथ दिने पार्टी थियो । तर फरक भएन ।

पछिल्ला वर्षहरूमा माओवादी सरकारमा रहँदा केही नयाँ काम गर्ने प्रयास गरेको देखिन्छ। अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएपछि भ्रष्टाचारविरुद्धका कदमहरू चाले। भुटानी शरणार्थी काण्ड, सुनकाण्ड, ललिता निवास प्रकरणजस्ता ठूला घोटालामा मुछिएका विभिन्न दलका नेता र ठेकेदारहरूलाई कानुनी दायरामा ल्याउने प्रयास गरे । तर, यी काण्डहरूमा एमाले र कांग्रेसका नेता तथा कार्यकर्ताहरूको संलग्नता देखिएपछि ती दलहरू माओवादीविरुद्ध एकजुट भए । अन्ततः माओवादीलाई सरकारबाट बाहिर गर्न सफल भए।

यद्यपि, पछिल्ला केही चुनावी परिणामहरूमा माओवादी एक्लै लड्दा पनि सकारात्मक संकेत देखिएको छ। स्थानीय तहको उपनिर्वाचन, पत्रकार महासङ्घको चुनाव र पछिल्लो समय भएको स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा कांग्रेस र एमालेले गठबन्धन गर्दा पनि माओवादी एक्लैले जित हासिल गर्‍यो। यो जनताले माओवादीलाई अझै पनि विकल्पको रूपमा हेरेको संकेत हो।

अब प्रश्न उठ्छ—आगामी २०८४ सालको निर्वाचनमा माओवादी एक्लै चुनावमा जाला त ? स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा आएको जनमतलाई हेर्दा माओवादीले अब आफ्नै बलमा जनताको विश्वास जित्नुपर्ने छ । गठबन्धन गर्दा माओवादीको मौलिक पहिचान गुम्ने खतरा छ, जसले पार्टीलाई दीर्घकालीन रूपमा अझ कमजोर बनाउन सक्छ।

अबको चुनावी यात्रामा माओवादीले विगतका गल्तीहरूबाट सिक्दै आफ्ना मुद्दाहरू स्पष्ट रूपमा जनतामाझ राख्नुपर्छ। विकास, सुशासन र समृद्धिका एजेन्डामा केन्द्रित हुँदै स्वतन्त्र रूपमा जनताको विश्वास जित्नुपर्ने आवश्यकता छ। माओवादीले आगामी चुनावमा एक्लै जाने कि फेरि गठबन्धनको बाटो समाउने भन्ने कुरा पार्टी नेतृत्वमा भर पर्छ, तर जनमतले चाहिँ माओवादीको एकल चुनावी यात्रा नै अपेक्षा गरिरहेको छ।

 

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal