कालिकोट ।
नेकपा (माओवादी केन्द्र) को भातृ संगठन अखिल (क्रान्तिकारी) को २३ औं राष्ट्रिय सम्मेलनका क्रममा कालिकोटबाट आधा दर्जन विद्यार्थी नेताहरु केन्द्रिय समितिमा निर्वाचित भएका छन् । सम्मेलनका क्रममा संगठन विस्तारका हिसाबले कालिकोटले केन्द्रिय समितिमा महत्वपूर्ण उपस्थिति जनाउन सफल भएको छ ।
यसअघि २१ औं राष्ट्रिय सम्मेलनका बेला कर्णाली प्रदेशको संयोजक र सहसंयोजक दुवै कालिकोटकै हुँदा भूगोल कोटाबाट एक जना मात्र केन्द्रीय सदस्य निर्वाचित भएका थिए । निर्वाचित हुनेमा बिम बहादुर बम थिए । त्यतिबेला कर्णाली प्रदेशको इन्चार्ज पञ्चा सिंह, संयोजक खेम बहादुर सिंह, सह–संयोजक पौरख बि.क. कालिकोटकै थिए ।
तर २३ औं राष्ट्रिय सम्मेलनको पूर्वसन्ध्यामा कर्णाली प्रदेशको अध्यक्षमा कालिकोटका मनसिंह शाही निर्वाचित भएपछि उनकै जोडबलमा केन्द्रिय समितिमा आधा दर्जन विद्यार्थी नेताहरु कालिकोटबाटै निर्वाचित भएका हुन् ।
२३ औं सम्मेलनमा कालिकोटबाट उपाध्यक्षमा ममता अधिकारी,सचिवालय सदस्यमाः राजन अधिकारी, प्रेम दर्जी र पार्बती संज्याल, खुल्ला सदस्यमा अस्मित बम, दिपेन्द्र बहादुर शाही, समावेशी सदस्यमा सिमा शाही र निर्वाचन आयोग सदस्यमा जीवन रावत निर्वाचित भएका छन् ।
निर्वाचित विद्यार्थी नेताहरुले संगठन निर्माणका क्रममा नेतृत्व विकास गर्ने तथा उत्तराधिकारी जन्माउने कुशल संगठक मनसिंह शाहीको भूमिकाको यतिबेला प्रंससा गरेका छन् ।