हुम्लामा यो वर्ष तालाखारमा हुम्लाका ब्यापारीहरुले ५० करोडभन्दा धेरैको फुरुको ब्यापार गरेका छन् । पछिल्लो समय हिमाली अर्थतन्त्रको बलियो आधार बन्दै गएको छ । यसकारण पनि हुम्लाका लामा समुदायका युवाहरु यसप्रति आकर्षित बन्न लागेका छन् । हुम्लाको उत्तरी हिमाली गाउँका युवाहरूको मुख्य आम्दानीको स्रोत फुरु व्यवसायलाई बन्दै गएको छ ।
यो व्यवसायमा पछिल्लो समय युवाहरूको आकर्षण बढेको छ । शिक्षित युवाहरु पनि फुरु व्यवसायमा लागेका छन् । यो त्रीदेशीय ब्यापारको काम भएकाले सप्रे दाम नसप्रे राम भन्ने मान्यताले रमाउन थालेका छन् । ‘फुरु’ एक प्रकारको काठको बहुमुल्य भाँडो हो । यो विशेषः प्रकारको तिल्याइलो काठको गाँठा र गिर्खाबाट बन्दछ । यी गाँठाहरूमा प्राकृतिक रुपमा नै विशेष कलायुक्त रेशा र आकारका हुने गर्दछन् । यसलाई राम्रोसँग आकार दिएपछि विभिन्न प्रकारका जडिबुटीबाट बनाइएका सुगन्धित तथा स्थायी रङ बस्ने रङहरू लगाएर बनाइन्छ । यसलाई लामो प्रक्रियाबाट प्रशोधन गरिन्छ । यसको आकार, बुट्टा र तौल अनुसार सयौंदेखि लाखौंसम्म मोल पर्ने गरेको जानकारी नाम्खा गापा वडा नं २ खगालगाउँका ब्यापारी टेकबहादुर लामाले दिए ।
हिमाली भेगमा बसोबास गर्ने मंगोलियन समुदायका बासिन्दाहरूका लागि अति महत्व र बहुमुल्य फुरु काठको भाँडो मात्र नभएर जीवन जगतसँग जोडिएको एक सांस्कृतिक निधि तथा प्राकृतिक विधिसँग जोडिएको एक अनिवार्य सम्पदा पनि हो । हुम्ली उखान झैँ कि दुई, कि फुई, कि रुईको मान्यतालाई फुरु व्यवसायले थप बल पुगाएको छ । हिमाली जनजीवनको असी प्रतिशत समय शुन्य डिग्री तापक्रम हुने भएकाले पनि तातो वस्तुलाई तातो नै राख्नका लागि फुरु एक प्राकृतिक तथा सांस्कृतिक थर्मस पनि मान्ने गरिएको छ । यसलाई ताप अवरोधक पनि मानिएको छ । यसैले पनि यहाँको आचारविचार, चालचलन र लवाईखवाईमा फुरुको उच्च स्थान रहेको छ ।
खानपानको परिकार अनुसार पनि फुरुको आकार प्रकार फरक हुने गरेको छ । यसको प्रयोग चिया, फुक्पा, छ्याङ्ग, फाँडो, खोले र खिचडी जस्ता अनेकौं परिकार खानका लागि प्रयोग गरिन्छ । विशेषतः हिमाली क्षेत्रमा खानपानमा झोलिलो खानाको अत्यधिक प्रयोमा फुरुको प्रयोग एक अनिवार्य शर्त पनि हो । यसैले पनि फुरुको प्रयोग अनिवार्य भएको नाम्खा गापा वडा नं १का बहादुर लामाले बताए ।
फुरुको प्रयोग हुम्लाको हिमाली गाउँका साथै अति चिसो हुने पश्चित तिब्बतमा अत्यधिक माग रहेको छ । यसैले पनि हुम्लाका फुरु ब्यापारीहलरू देश विदेशबाट यसको ब्यापारका लागि वर्षेनी करोडौं रकमको ब्यापार गर्ने गरेका छन् । यो व्यवसायमा नाम्खा गापाका ८० प्रतिशत युवाहरू लागेका छन् । यसैले पनि यिनीहरूको आम्दानीले गर्दा गाउँदेखि शहरसम्म राम्रो लगानी गर्न सफल भएको नाम्खा गापा वडा नं ५का जेष्ठ नागरिक लुन्डुप लामाले जानकारी दिए ।
फुरुको प्रयोग हुम्लाका हिमाली गाउँहरू बुराउँसे, तोर्पा, लिमाटांग, दोजाम, बरगाउँ, हेक्पा, धिगा, गाडपारी, खालोई, खगालगाउँ, केर्मी, सतुंग, याल्वांग, यांगार, चाला, मुचु, तुमकोट, यारी र जांग, हल्जी र तील गाउँहरूमा ऐतिहासिक तथा सांस्कृतिक निधिका रुपमा संकलन र प्रयोग गरिन्छ । यसको बुट्टा अनुसार पञ्च धातु र नवरत्न पनि जडान गर्ने गरिन्छ । यो प्राकृतिक मैत्री पनि भएकाले यसलाई काष्ठ उपचार पद्धतिको एक उत्कृष्ट नमुनामा पनि मानिएको छ ।
यसको माग राम्रो भईकन पनि नीति, विधि, प्राविधिक र व्यावहारिक कारणले यो पेशाको भविष्य सोचनिय छ । प्राकृतिक साधन स्रोतमा अत्यधिक दोहन कतिसम्म धान्न सक्ने हो । यसलाई नीतिगत रुपमा समावेश गर्नु अति आवश्यक मानिएको छ । यसबाट राष्ट्रिय अर्थतन्त्रमा पनि टेवा पुग्ने देखिन्छ ।