
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू निरन्तर समाजवाद निर्माणको अभियानमा अघि बढेको बताएका छन्।
समाजसेवी एवं भीमोदय बहुमुखी क्याम्पस आरुघाट गोरखाका व्यवस्थापन समिति अध्यक्ष गणेशकुमार श्रेष्ठद्वारा लिखित ‘पुस्तालाई पूर्खाको नासो’ पुस्तक लोकार्पण गर्दै उनले आफू निरन्तर समाजवाद निर्माणको अभियानमा अघि बढेको बताएका हुन् ।
सुशासन, सामाजिक न्याय र समृद्धिको बाटोहुँदै समाजवाद निर्माणको अभियानमा लागिरहेको बताउदै उनले भने – ‘मैले अहिलेसम्म तीनपटक सरकारको नेतृत्व अवसर पाएँ, हरेकपटक नवीनताको सुरुवात गरेको छु’, अध्यक्ष प्रचण्डले भने, ‘पहिलो कार्यकालमा पहाडी क्षेत्रमै सुविधा पुर्याएर बसाइँसराई रोक्ने उद्देश्यसहित मध्यपहाडी लोकमार्गको सुरुवात र गरिबको कृषि ऋण मिनाह, दोस्रो कार्यकालमा संविधानको कार्यान्वयन र लोडसेडिङमुक्त नेपालको नेतृत्व मेरा महत्वपूर्ण प्रयास थिए।’ उनले तेस्रो कार्यकाल उपलब्धिका हिसाबले निकै महत्वपूर्ण रहेको उल्लेख गर्दै यसले जनतालाई नयाँ आशा जागृत गर्ने ढोकासमेत खोलेको बताए।
नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक मुलुक भएकाले हरेक हरेक समुदायकोे पहिचान स्थापित गरेर मात्रै राष्ट्रिय एकता कायम गर्न सकिने उल्लेख गर्दै अध्यक्ष प्रचण्डले हरेक समुदायका संस्कृतिलाई राष्ट्रिय संस्कृतिको रुपमा स्थापित गर्न आफूले मुख्यरुपमा जोड दिँदै आएको र सफल पनि भएको बताए ।