
काठमाडौँ ।
विशेष अदालतले नेपाल वायुसेवा निगमका दुईवटा वाइडबडी जहाज खरिदमा भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै तत्कालीन अध्यक्ष र महाप्रबन्धकसहित निगम सञ्चालक समितिका चार जनालाई दोषी ठहर गरेको छ ।
विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, सदस्य न्यायाधीशहरू तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले जहाज खरिदमा संलग्न निगमका तत्कालीन अध्यक्ष, महाप्रबन्धकसहित ४ जनालाई कैद सजाय तोकेको हो ।
यसै गरि अदालतबात तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाहीले भने सफाइ पाएका छन् । भ्रष्टाचार ठहर भएको रकम कसुरदारबाट दामासाहीले असुलउपर हुने विशेषले बिहीबार राति सार्वजनिक गरेको संक्षिप्त फैसलामा उल्लेख छ । फैसलाअनुसार निगमका तत्कालीन अध्यक्ष शंकरप्रसाद अधिकारी, महाप्रबन्धक सुगतरत्न कंसाकार तथा सञ्चालक समिति सदस्यद्वय बुद्धिसागर लामिछाने र शिशिरकुमार ढुंगाना दोषी देखिएका छन् ।
दोषी ठहर भएका कंसाकारलाई २ वर्ष ९ महिना तथा कैद सजाय सुनाइएकोमा ज्येष्ठ नागरिकका आधारमा कैद आधा मिनाहा गरिएको छ । यस्तै अधिकारीलाई १ वर्ष ९ महिना तथा ढुंगाना र लामिछानेलाई १ वर्ष ६ महिना कैद सजायको फैसला गरिएको छ ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले वाइडबडी जहाज खरिदमा भ्रष्टाचार भएको भन्दै १ अर्ब ४७ करोड १० लाख ८५ हजार चार सय ८२ रकम बिगो माग गरी ३२ जनाविरूद्ध मुद्दा दायर गरेको थियो ।
यस्तै अदालतले जहाज आपूर्तिकर्तामध्ये एएआर इन्टरनेशनल इन्कका दिपक शर्मा, जर्मन एभिएसन क्यापिटलका ओलेग कालिस्ट्रु, एएआर इन्टरनेशनल इन्कका मुख्य व्यक्ति जोन एम होल्मस, एभिएसन क्यापिटलका प्रबन्ध निर्देशक अना टोपा, हाई फ्लाई एक्सका पाउलो मोरपुरी, गेराल्ड थ्रोन्टन र क्रिश्चियन न्ह्युलेन पनि दोषी ठहर गर्दै १ वर्ष ६ महिना कैद सजाय सुनाएको छ ।
यो मुद्दामा निगमका अरु कर्मचारी र सञ्चालक समिति सदस्यहरूले सफाइ पाएका छन् ।