काठमाडौं । दशैं सकिएसँगै नेपालबाट मनसुन पूर्णरुपमा बाहिरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार यही असोज २० गतेदेखि बाहिरिन शुरू गरेको मनसुन शनिबारबाट पूर्णरुपमा बाहिरिएको हो ।
मनसुन असोज २० गते सुदूरपश्चिम तथा कर्णाली र लुम्बिनीका केही भागबाट तथा असोज २२ गते कर्णाली, लुम्बिनी, गण्डकी र काठमाडौं उपत्यकाबाट पूर्णरुपमा र बागमती र मधेशमा आंशिकरुपमा मनसुन बाहिरिएको थियो । आज भने मधेश र बागमतीका बाँकी भाग र कोशीबाट समेत मनसुन बाहिरिएको विभागले जनाएको छ ।
विभागका अनुसार यसपालि मनसुन ढिला गरी जेठ २८ मा भित्रिएको थियो भने चार दिन ढिला गरी बाहिरिन शुरू भएकोमा ६ दिनपछि पूर्णरूपमा बाहिरिएको छ ।