काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाको भ्रष्टाचार मुद्दामा चार जना दोषी ठहर भएका छन् । बिशेष अदालतका न्यायाधीश टेकनारायण कुँवर, तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले हिजो मेलम्ची आयोजनासम्बन्धीे भ्रष्टाचार मुद्दामा तत्कालीन सचिव गजेन्द्र ठाकुर, तत्कालीन कार्यकारी निर्देशक रामचन्द्र देवकोटा, सूर्यराज कँडेल तथा परामर्शदाता इप्टिसाका टिम लिडर शिवकुमार शर्मालाई दोषी ठहर गरेको हो । पूर्वसचिव भीम उपाध्याय, सञ्जय शर्मासहित ११ जनाले भने सफाइ पाएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयोजनाको विभिन्न प्रकृति र चरणमा अनियमितता भएको आरोपमा २०८० साल फागुन ६ मा विशेष अदालतमा मुद्दा दायर गरेको थियो । परामर्शदातासहित चार कम्पनीलाई बिगो कायम गरिएको छ ।