काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सञ्चारमाध्यमको समावेशीकरण र मातृभाषा पत्रकारिताको विकास हुनु पर्नेमा जोड दिनु भएको छ । नेवाः पत्रकार राष्ट्रिय दबूका पदाधिकारी एवं पत्रकारसँग राष्ट्रपति भवन शीतल निवासमा आइतबार भएको भेटमा राष्ट्रपति पौडेलले नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक देश भएकाले सबै जातजाति, भाषाभाषी र संस्कृतिको उत्थान र विकास हुनेगरी सञ्चार माध्यममा समाचार आउनुपर्ने बताउनुभएको हो । सो अवसरमा राष्ट्रपति पौडेलले विविध भाषाभाषी, संस्कृति र समुदायको विकास र अधिकारको उपभोगले राष्ट्रिय एकता बलियो हुने धारणा राख्नुभयो।उहाँले नेपालभाषा लगायतका विभिन्न मातृभाषामा पत्रपत्रिकाको प्रकाशन र विकासले सम्बन्धित भाषा, साहित्य, संस्कृतिको विकासमा योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो। राष्ट्रपति पौडेलले पत्रकारिताको समावेशीकरण, नेपालमा मातृभाषा पत्रकारिताको विकासका लागि आफ्नो पूर्ण सहयोग र समर्थन रहने बताउनुभयो।
सो अवसरमा नेवाः पत्रकार राष्ट्रिय दबूका अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठले राष्ट्रपति पौडेलसमक्ष ध्यानाकर्षणपत्र बुझाउनुभयो। राष्ट्रिय दबूका वरिष्ठ उपाध्यक्ष सुनील महर्जनले सञ्चारमाध्यमको समावेशीकरण र मातृभाषाको पत्रकारिताको विकासका लागि आग्रह गर्नुभएको थियो । राज्यको चरित्र समावेशी बनाउन सञ्चारमाध्यम पनि समावेशी हुनुपर्ने महर्जनले आग्रह गर्नुभयो । नेपाल भाषाको पत्रकारिता शुरु भएको एक सय वर्ष पुगेको सन्दर्भमा नेवाः पत्रकार राष्ट्रिय दबूले विविध कार्यक्रम आयोजना गरी मातृभाषा पत्रकारिता शत्ताब्दी महोत्सव गर्दैआएको छ।