काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का महासचिव धर्मेन्द्र बास्तोलाले नेपालमा भ्रष्टाचार दिनदिनै बढिरहेको बताउँदै आफ्नो पार्टी त्यसविरुद्ध कडा रुपमा प्रस्तुत हुने बताए ।
बास्तोलाले अहिलेसम्मका राष्ट्रप्रमुख, प्रधानमन्त्रीहरु, मुख्यमन्त्री, मन्त्रीहरु नियोगमा प्रमुख, सुरक्षा निकायका प्रमुख, मुख्य सचिवलगायतको सम्पत्ति छानबिन लागि दबाब सिर्जना गर्ने पार्टीले निर्णय गरेको जानकारी दिए ।
‘राज्यका महत्वपूर्ण निकायमा पुगेकाहरुकै संरक्षणमा दिनदिनै भ्रष्टाचार बढ्दो छ, केही राज्यका महत्वपूर्ण निकायमा पुगेकाहरु सबैको सम्पत्ति छानविन गर्नुपर्छ, त्यसको लागि हामी संघर्ष गर्छौं’ बास्तोलाले भने । उनले भ्रष्टाचारलाई कालोमोसो दल्नेदेखि खुट्टा भाँच्ने सम्मका संघर्षका कार्यक्रम गर्ने बताए ।
बास्तोलाले बुधबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर मोहन वैद्य जनवादी क्रान्तिको नाममा वर्ग संघर्षमा जान डराएकोले पार्टी एकता असफल भएको घोषणा गर्नु परेको बताए ।
क्रान्तिकारी कम्युनिस्ट पार्टीबाट अलग भएपछि साउन ११ देखि १५ गतेसम्म बसेको केन्द्रीय समितिको बैठकले पुस ११ गते माओ दिवसको अबसरमा नवौं महाधिवेशन गर्ने निर्णय गरेको छ ।
त्यसैगरी बैठककले भ्रष्टाचार बैंक, लघुवित्त र सहकारी तथा मिटरब्याजविरुद्ध देशभर संघर्ष गर्ने निर्णय गरेको छ ।
एक अर्को प्रसंगमा बोल्दै बास्तोलाले विचारधारात्मक रुपमा पुनर्गठन गर्दै वर्ग संघर्षलाई अगाडि बढाउने बताए । उनले विचार मिल्नेसँग एकता र सहकार्यलाई जारी राख्ने समेत बताए । उनले विचारधारात्मक रुपमा फरक भएका कारण मोहन वैद्यसँगै अगाडि जान नसकिएको बताएका छन् ।
‘वर्ग संघर्षलाई नयाँ उचाईमा उठाउन किरण कमरेडले नेतृत्व गरेको पार्टी र हाम्रो पार्टीबीच भएकता भएको हो । तर, उहाँ जडसुत्रवादी सोँचभन्दा माथि उठ्न सक्नु भएन । युवाले कम्प्युटर मागेको छ, हसिया दिएर घाँस काट्न पठाउने वैद्य कमरेडको तरिकाले एकता सफल हुन सकेन’ बास्तोलाले भने ।