
काठमाडौं । काठमाडौं महानगरपालिकाले न्युरोड क्षेत्रको फुटपाथ चौडाईको काम पुनः सुरु गरेको छ । उच्च अदालतले फुटपाथ बिस्तारको बाटो खोलिदिएपछि महानगरपालिकालेआज बुधबारदेखि पुनः काम सुरु गरेको हो ।
यस अघि महानगरले सडकको चौडाई घटाएर फुटपाथ चौडाई गर्नका लागि न्यूरोडको कालोपत्र काटेपछि स्थानीय बासीले बिरोध गर्दै सडकमा उत्रेका थिए । सडक डिभिजन, काठमाडौंले पनि यो सडक खण्ड आफ्नो क्षेत्राधिकारभित्र पर्ने भनेर अवरोध गरेको थियो ।
महानगरले न्यूरोडको सडकलाई पैदलयात्रीमैत्री बनाउन ठेक्कामार्फत निर्माण पक्ष छनोट गरेर जेठ ११ गतेदेखि काम थालेको थियो । जेठ १२ गते सडक डिभिजन, काठमाडौंले भत्काइएका सडकमा कालोपत्र गरेको थियो । त्यसपछि महानगरले जेठ २७ गते उच्च अदालत पाटनमा रिट दायर गरेको थियो । सो रिटमा सुनुवाइ गर्दै उच्च अदालतले आइतबार शहरी सडक स्थानीय तह मातहतमा रहने भन्दै न्यूरोड क्षेत्रमा फुटपाथ विस्तारको काम नरोक्न अन्तरिम आदेश दिएको थियो ।
उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र प्रकाश खरेलको संयुक्त इजलासले न्यूरोडमा फुटपाथ विस्तार रोक्ने गरी डिभिजन सडक कार्यालयले काठमाडौं महानगरपालिकालाई लेखेको पत्र कार्यान्वयन नगर्न भनेपछि महानगरपालिकाले काम थालेको हो ।