काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले सरकारलाई पूर्णता दिएका छन् । आज नेकपा माओवादी केन्द्रबाट कृष्णा केसी ‘नमुना’ लाई मन्त्रीले शपथ खाएसँगै लुम्बिनी सरकारले पूर्णता पाएको हो ।
नमुना दोस्रो पटक बाँके निर्वाचन क्षेत्र नं १ को १ बाट निर्वाचित भएकी हुन् । नमुनालाई ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्रीको जिम्मेवारी दिइएको छ । अब लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् १२ सदस्यीय बनेको छ ।
महरा चैत २३ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । गत वैशाख १२ गते मुख्यमन्त्री महराले मन्त्रिपरिषद्को विस्तार गरे पनि उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय आफैंसँग राखेका थिए ।
नवनियुक्त मन्त्री केसीले सोमबार नै प्रदेश प्रमुखसमक्ष देउखुरीको लुम्बिनी हलमा पद तथा गोपनीयताको सपथग्रहण गरेकी छन् ।
लुम्बिनी प्रदेश सरकारमा एमालेबाट आर्थिक मामिलामन्त्रीसहित ५, माओवादीबाट मुख्यमन्त्रीसहित ३, नागरिक उन्मुक्ति, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र स्वतन्त्रबाट ११ जना मन्त्री छन् । ८७ सदस्यीय प्रदेशसभामा रहेका ४८ सांसदको समर्थनमा अहिलेको सरकार बनेको छ ।