काठमाडौं । उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिएका छन् । प्रधानमन्त्रीको सन्देशसँगै आइतबार यादवले राजिनामा दिएका हुन् । त्यस्तै, पार्टी विभाजनपछि उपेन्द्रतिरै लागेका वन राज्यमन्त्री दीपक कार्कीले पनि राजीनामा दिएका छन् ।
यादवले आइतबार पार्टीको बैठक बोलाएर सरकारबाट बाहिरिने निर्णय गरेका थिए । त्यसअघि यादवले प्रधानमन्त्रीसँग सरकारमै रहने बताएका थिए । तर, प्रधानमन्त्रीले यादवलाई राजिनामा दिन सुझाव दिएका थिए ।
सरकारमा सहभागी सँगै वनमन्त्री बनेका नवलकिशोर साह सुडी भने अशोक राई नेतृत्वको जसपामा लागेका छन् । उनी सरकारमै छन् ।
प्रधानमन्त्री प्रचण्ड कार्यक्रमको सिलसिलामा काठमाडौँ बाहिर भएकोले यादवले राजिनामा पत्र बुझाउन पाएनन् । तर, प्रधानमन्त्रीको सचिवालयले भने यादव र कार्कीले राजिनामा दिएको पुष्टि गरेको छ ।
प्रचण्ड सरकारको विरुद्ध वैकल्पिक गठबन्धन बनाएर प्रधानमन्त्री हुने सपना बोकेका यादवले संघ र प्रदेश दुबै ठाउँबाट बाहिरिनु परेको छ ।
नेपाली काँग्रेससँग मिलेर वैकल्पिक गठबन्धन बनाउन लागेपछि जसपा नेपाल विभाजन भएको थियो । नेता अशोककुमार राईको नेतृत्वमा जसपा पार्टी गठन भएको छ । अध्यक्ष राईले सरकारको अस्थिरताको लागि खेल भएपछि पार्टी विभाजन गर्नु परेको बताइसकेका छन् ।
उता मधेस प्रदेशको नेतृत्व पनि उपेन्द्र यादवले गुमाएका छन् । नेकपा माओवादी केन्द्र र नेकपा एमालेले समर्थन फिर्ता लिएपछि मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव अल्पमतमा परेका छन् ।