काठमाडौं । आज बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज विश्वासको मत लिँदैछन् ।
केन्द्रमा नयाँ समिकरण बनेसँगै नेपाली काँग्रेले फागुन २३ गते सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएको थियो ।
सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान अनुसार मुख्यमन्त्री शालिकराम जम्कट्टेलले २२ चैतभित्र विश्वासको मत लिनु पर्ने हुन्छ ।
गठबन्धनको दल नेकपा एकीकृत समाजवादीले अहिलेसम्म निर्णय नगर्दा जम्कट्टेलले विश्वासको मत पाउनेमा बलियो आधार तयार भएको छैन ।
मुख्यमन्त्रीले विश्वासको मत पाउनको लागि ५६ सांसदको समर्थन आवश्यक पर्छ ।
बिहीबार नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीबीच सहमति भएपछि मुख्यमन्त्रीले आवश्यक बहुमत जुटाएका थिए । तर एकीकृत समाजवादीका नेताहरुले सार्वजनिक रुपमा विश्वासको मत नदिने बताउन थालेका छन् ।
आइतबार विहान बालुवाटारमा बसेको गठबन्धन दलको बैठकमा अध्यक्ष माधव कुमार नेपालले पनि कुनै एउटा प्रदेशमा आफ्नो पार्टीको नेतृत्वमा सरकार बन्नुपर्ने अडान राखेका थिए ।
बागमतीमा एमालेको २७, माओवादी केन्द्रको २१, एकीकृत समाजवादीको ७ र हाम्रो नेपाली पार्टीको दुई सिट छ ।