काठमाडौं । सत्ता गठबन्धन परिवर्तन भएपछि प्रमुख प्रतिपक्षको भूमिकामा पुुगेको नेपाली कांग्रेसले राष्ट्रिय सभाको अध्यक्ष पदमा आफ्नो उम्मेदवार उठाउने भएको छ ।
सभापति शेरबहादुर देउवाको निवास बूढानिलकण्ठमा शनिबार बिहान पदाधिकारीवीच यसबारेमा छलफल भएको हो । करिब दुइ घण्टाको छलफलपछि वर्तमान सत्ता गठबन्धनभन्दा बाहिर रहेका दलहरुसँग परामर्श गरेर उम्मेदवार टुंगो लगाउने निर्णय गरेको प्रचार विभाग प्रमुख मिन विश्वकर्माले नेपाल न्यूज बैंकसँग बताए ।
कांग्रेसले विपक्षमा रहेका अन्य दलसँग परामर्श गरेपछि मात्र को उम्मेदवार हुने भन्ने बिषय टुंगो लगाउने भनेर छलफलको बाटो खुला गरेको छ ।
राष्ट्रिय सभाको बैठक भोलि फागुन २७ गते आइतबार १ बजे बस्दैछ । २९ गते अध्यक्षको निर्वाचन हुनेगरी यसअघि नै कार्यक्रम सार्वजनिक भैसकेको छ ।
यसअघिको गठबन्धनमा राष्ट्रिय सभा अध्यक्ष पदमा आफ्नो उम्मेदवार जित्ने अवस्था रहँदा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला उम्मेदवार बन्ने करिब निश्चित जस्तै मानिएको थियो । तर नयाँ समिकरण भएसँगै त्यो सम्भव भएन ।
सिटौलाले आफू जित्नलाई कोशी प्रदेशमा नेकपा एमाले उम्मेदवारलाई सहयोग गर्न लगाएर माओवादी उम्मेदवारलाई पराजित गराएका थिए ।
कोशीमा भएको अन्तरघातलाई काँग्रेसले गम्भीररुपमा नलिनु गठबन्धन भत्किनुको एउटा कारण थियो ।
अब काँग्रेसले कसलाई अध्यक्षको उम्मेदवार बनाउँछ भन्ने त अहिले खुलाएको छैन । तर, सिटौलालाई नै अघि सार्न सक्ने बताइएको छ ।