काठमाडौं । राष्ट्रियसभा निर्वाचनमा नेपाली काँग्रेसीले कोशी प्रदेशमा गम्भीर गद्दार ‘गद्दारी’ गरेको भन्दै गठबन्धन दलभित्र प्रश्न उठेको छ । गठबन्धनबाट उम्मेदवार चम्पा कार्कीलाई पराजित गर्न काँग्रेसले एमाले उम्मेदवारलाई मतदान गरेपछि शिर्ष नेताहरु गम्भीर भएका छन् ।
आत्मघाती धारमा हिडेको नेपाली काँग्रेसको संस्थापन इतर समूहले माओवादी उम्मेदवारलाई मतदान नगरेको निष्कर्ष गठबन्धन दलको छ । स्थानीय, प्रतिनिधि र प्रदेशसभा चुनावमा माओवादी उम्मेदवारलाई खुलेर हराउन लागेको काँग्रेसको शेखर–गगन समूहले राष्ट्रियसभा निर्वाचनमा पनि लागेको नेताहरुले बताउँछन् ।
अन्य प्रदेशमा प्रभावहिन रहेको उक्त समूहले कोशीमा भने सरकार गठनमा पनि गठबन्धनको निर्णयविरुद्ध गएको थियो ।
राष्ट्रियसभाको निर्वाचनको समीक्षा गर्न बालुवाटारमा मंगलबार साँझ बसेको सत्तारुढ गठबन्धनको बैठक पश्चात नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले कोशीमा आएको परिणामको बारेमा प्रारम्भिक छलफल भएको बताएका छन् । उनको भनाईले पनि शिर्ष नेताहरु कोशीको घटनालाई गम्भीरतापूर्वक लिएका छन् ।
मतभारका हिसाबमा जीत सुनिश्चित भएपनि अपेक्षाअनुसारको परिणाम नआउनु गम्भीर र चिन्ताजनक भएको भन्दै नेता लेखकले त्यसको बारेमा गम्भीर रुपमा छलफल भएको बताए ।
“कोशी प्रदेश सत्ता पक्षको गठबन्धनमा हामीले एउटा सिट गुमाएका छौं । त्यो विषयलाई लिएर छलफल भएको छ । समग्रतामा अरु प्रदेशको बारेमा पनि छलफल भएको छ । राष्ट्रियसभाको निर्वाचनको परिणामलाई लिएर प्रारम्भिक रुपले गम्भीररुपमा छलफल गरेको छ । कोशीमा जुन परिणाम आएको छ यो गम्भीर छ, चिन्ताजनक छ यसको बारेमा प्रारम्भिक छलफल भएको छ र अझै छलफल गर्ने निर्णय भएको छ” लेखकले भने ।
कोशीको घटना गठबन्धनकै सरोकारको विषय भएको भन्दै यसले कुनै प्रतिकुल प्रभाव नपार्ने बताउँदै लेखकले भने, “यो कन्सर्न प्रधानमन्त्री वा सभापतिको मात्रै नभएर समग्रतामा गठबन्धनकै कन्सर्न हो किनभने सबैको साँझा उम्मेदवार भएको हुनाले यसमा कसका के भन्दा पनि समग्रतामा विश्लेषण गरेका छांै । गठबन्धन एकमुष्ट छ, एकीकृत छ, गठबन्धनमा यसले कुनै प्रतिकूल प्रभाव पार्ने अवस्था छैन् भन्ने विषयमा पनि समझदारी छ ।”
उनले प्रारम्भिक छलफलमा गोप्य मतदानका विषयमा कसले फ्लोर क्रस ग¥यो भन्ने विषय प्रारम्भिक छलफलको विषय नभएको भन्दै यस बारेमा आगामी दिनमा विश्लेषण हुने बताए ।
यसअघि नेकपा माओवादीको उपमहासचिव वर्षमान पुनले कोशीको घटनाले काँग्रेससँगको सहकार्यबारे नै सोच्नुपर्ने अवस्था आउन सक्ने चेतावनी दिएका थिए । उनले पटकपटक कोशीमा काँग्रेसले धोका दिइरहने भए त्यसलाई स्वीकार गरेर आफूहरु बस्न बाध्य नहुने चेतावनी समेत दिएका थिए ।
कोशीबाटै गठबन्धन फुटाउन सकिने नेकपा एमालेको अघिल्लो प्रयास असफल भएको थियो । एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरुले कोशीको घटना सातै प्रदेश हुँदै संघीय सरकारसम्म पुग्ने भन्दै भाषण गरेका थिए । तर, गठबन्धन दलहरुले कोशी सरकारबाट एमालेलाई बाहिर बाध्य पार्दै गठबन्धनमा कुनै असर नपर्ने गरी समस्या समाधान गरेका थिए ।
राष्ट्रियसभा चुनावको घटनाबाट एमालेले गठबन्धनभित्र विवाद सिर्जना गर्न खोजेपनि त्यो तत्काल पूरा नहुने नेताहरु बताउँछन् । “एमालेले कोशीमा यसपटक थापेको ढोक्सा त पूरा हुँदैन तर हामी काँग्रेसको गद्दारीलाई गम्भीरतापूर्वक छलफल गर्छौँ” एक नेताले बताए ।