धनगढी । कैलाली र कञ्चनपुरका थारु बस्तीमा नेकपा (माओवादी केन्द्र) ‘जनतासँग माओवादी विशेष रुपान्तरण’ अभियान घनिभूत रुपमा अगाडि बढिरहेको छ । उत्पीडित तथा आदिवासी थारु समुदायको मुक्ति र अधिकारको लागि माओवादीले पुर्याएको योगदानबारे पुनः एक पटक समिक्षा हुन थालेको छ ।
जनयुद्धकै कारण आफूहरुको राज्यको पहुँचमा पुग्न सकेको थारु समुदायको दुई मत छैन तर पछिल्ला दिनमा माओवादीले आफूहरुलाई भुलेको गुनासो मात्रै रहेको अभियान अभियानमा खटिएका नेताहरु बताउँछन् ।
“लडाइँका कठिन दिनहरुमा हामीले नै बचाएका नेताहरु सहर पसेपछि नफर्केपछि हामी दायाँबायाँ लागेका हौं । फेरि फर्किएर आउनुभयो पनि फर्किएका हौं” हालै नेकपा एमामले छोडेर माओवादीमा फर्किएकाहरुले बताए ।
विज्ञप्ति जारी गरेर विना चौधरी, रमादेवी चौधरी, फानी डगौरा, फगुनी डगौरालगायत पनि माओवादीमै फर्किएका छन् । उनीहरुले एक विज्ञप्ति जारी गरेर आफ्नो लागि संघर्ष गरेको माओवादी पार्टीका विभिन्न कमिटीमा रहेर काम गरेको तर बीचमा राजनीतिक रुपमा अन्यौल भएर नेकपा एमालेमा प्रवेश गरेको बताउँदै पुनः माओवादीको सिपाही बन्न फर्किएको बताएका छन् ।
नेकपा (माओवादी केन्द्र)का कञ्चनपुर जिल्ला इन्चार्ज विरमान चौधरीले आफूहरु गाउँघर फर्किएसँगै अन्य पार्टीमा लागेका जनताहरु पनि उत्साहित भएको र उनीहरु पुनः माओवादीमै फर्किन थालेको बताए । उनले भने, “हामीहरु गाउँघरमा फर्किएपछि जनताहरु निकै उत्साहित भएका पाएका छौँं । तपाईँहरुले छोडेकै कारण हामी अन्य पार्टीमा गएका हौं, तपाईँहरु पनि फर्किएपछि हामी पनि फर्किन्छौं भन्दै धमाधम फर्किरहेका छन् ।”
आफूहरुलाई छोडेको वा भुलेको भन्ने मात्रै जनताको गुनासो पाएको चौधरीले बताए । “जनताको माओवादीसँग कुनै ठूलो माग छैन तर हामीलाई भुलेपछि कतै न कतै त लाग्यौं, हामी पनि फर्किन्छौं । तपाईँहरु फेरि गाउँ नछोड्नुस् भनेर सबैले भन्नुहुन्छ” चौधरीले अनलाइन डबलीसँग भने ।
जिल्लामा दशवटा अभियान टोली खटिएको छ । इन्चार्ज चौधरीका अनुसार सबै अभियान टोलीले पहिलो चरणका बैठक, भेला, प्रशिक्षण, सहिद परिवार भेटघाट, पुराना नेता कार्यकर्ता भेटघाट, समिक्षा सकिएका छन् । अब दोस्रो चरणका सदस्यता नविवकरणलगायतका कामहरु सुरु भएका चौधरीले जानकारी दिए ।
दोस्रो चरणमा प्रवेश गर्दैगर्दा आफूहरुले अपेक्षा गरेभन्दा बढी जनताको साथ पाएको बताउँदै दोस्रो चरण पनि सफल अपेक्षा गरेभन्दा सफल हुने इन्चार्ज चौधरीले विश्वास व्यक्त गरे । उनले माओवादीलाई पुरानै ठाउँमा फर्काउन सकिने सम्भावना देखा परेको बताए ।