
काठमाडौँ । प्रधानमन्त्री प्रचण्डले संयुक्त राष्ट्रसङ्घको ७८ औँ महासभालाई सम्बोधन गरेका छन् ।
अमेरिकाकामा न्यूयोर्कस्थित राष्ट्र संघको कार्यालयमा महासभालाई प्रधानमन्त्रीले सम्बोधन गर्दै दिगो विकास, जलवायु परिवर्तन, विश्वव्यापी महामारीका कारण सिर्जित स्वास्थ्य चुनौती र नेपालको शान्ति प्रक्रियाबारे विषय उठान गरेका छन् ।
प्रधानमन्त्रीले नेपाली मौलिकताको लोकतन्त्र, समावेशी शासन प्रणालीको अभ्यास, समुन्नत नेपाल निर्माणमा नेपालको प्रयास लगायतका विषयमा पनि प्रचण्डले साममा जानकारी गराएका छन् ।
त्यसैगरी प्रधानमन्त्रीले शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउने चरणमा रहेको बताएका छन् । यो काम नेपाल सरकारको प्रमुख एजेण्डा भएको पनि प्रधानमन्त्रीले विश्वसामु जानकारी दिए । “मेरो प्रमुख राजनीतिक एजेण्डा संक्रमणकालीन न्यायका बाँकी काम पूरा गर्नु हो । हाम्रो अद्वितीय शान्ति प्रक्रिया तार्किक निष्कर्षमा पुर्याउने चरणको निकटमा छौं” प्रधानमन्त्रीले सम्बोधनको क्रममा भने ।
शान्ति, न्याय र परिपूरणबीचको सन्तुलन कायम राख्दै संक्रमणकालीन न्यायका बाँकी काम टुंगो लगाउने गृहकार्य अन्तर्गत संसदमा त्यस सम्बन्धी संशोधन विधेयक पेस गरिएको जानकारी पनि उनले गराए । ‘व्यापक परामर्श मार्फत तयार पारिएको विधेयक पीडित केन्द्रित छ र पीडितको अधिकारको रूपमा परिपूरणलाई मान्यता दिन्छ’, प्रधानमन्त्री प्रचण्डले भने । सशस्त्र द्वन्द्वलाई शान्तिमा रूपान्तरण गरेर नेपालले दुर्लभ उदाहरण प्रस्तुत गरेको उनले बताए ।
शताब्दीयौं पुरानो सामन्ती राजतन्त्रबाट लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा रूपान्तरण र बहुदलीय लोकतान्त्रिक राजनीतिमा रूपान्तरण हुँदा नेपाली समाजका सबै वर्गको सहभागिता सुनिश्चित हुने क्रममा रहेको उनले बताएका छन् ।
शान्ति प्रक्रियाका केही काम बाँकी रहे पनि मानवअधिकार, सहभागितामूलक लोकतन्त्र, आवधिक निर्वाचन, समावेशी समानुपातिक प्रतिनिधित्व, पूर्ण प्रेस स्वतन्त्रता, स्वतन्त्र न्यायपालिका र विधिको शासनको विश्वव्यापी मान्यतालाई सुदृढ गर्ने ग्यारेन्टी भएको संविधान जारी भएको प्रचण्डले बताए ।
प्रधानमन्त्री प्रचण्ड न्युयोर्कबाट आजै चीन प्रस्थान गर्ने र १३ असोजमा स्वदेश फर्किने कार्यतालिका रहेको छ ।