काठमाडौं । प्रधानमन्त्री प्रचण्ड भोलि अमेरिका जाने तयारीमा छन् । संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा भाग लिन प्रधानमन्त्री शनिबार त्यसतर्फ प्रस्थान गर्ने भएका हुन् ।
परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्रीले २१ सेप्टेम्बरमा हुने महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । यसपटकको महासभाको बहसको विषय ‘विश्वव्यापी एकताको पुनर्निर्माण विश्वास र पुनर्जागृत : २०३० को एजेन्डा र यसको दिगो विकास लक्ष्य सबैका लागि शान्ति, समृद्धि, प्रगति र दिगोपनमा तीव्रता दिने’ छनोट गरिएको छ ।
प्रधानमन्त्री प्रचण्ड महासभाको उद्घाटन सत्रमा भाग लिनुका साथै १९ सेप्टेम्बरमा संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुने छन् ।
न्यूयोर्कमा हुँदा प्रधानमन्त्री दाहालले संयुक्त राष्ट्रसंघको दिगो विकास लक्ष्य शिखर सम्मेलन र जलवायु महत्त्वाकांक्षा शिखर सम्मेलनलगायतका कार्यक्रमलाई पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ । साथै, संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेससँग भेटवार्ता गर्नुका साथै विभिन्न देशका आफ्ना समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यतालिका रहेको छ ।
प्रधानमन्त्रीले आर्थिक संकटको अवस्थालाई मध्यनजर गर्दै सानो आकारको भ्रमण टोली बनाएका छन् । प्रधानमन्त्रीसँगै गंगा दाहाल, परराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्र सचिव भरतराज पौड्यालसहित सानो आकारको भ्रमण टोली रहेको छ ।
प्रधानमन्त्री प्रचण्ड चीन भ्रमणको लागि अमेरिकाबाटै बेइजिङ जाने छन् ।