काठमाडौँ । रसुवास्थित धार्मिकस्थल गोसाइँकुण्डमा जनैपूर्णिमाका अवसरमा १५ हजारभन्दा बढी भक्तालु दश्नार्थीले मेला भरेका छन्। १० दिनसम्म लागेको मेलामा करिब १५ हजार तीर्थयात्रीले मेला भरेका गोसाइँकुण्ड क्षेत्र विकास समितिले जनाएको छ।
समितिका अनुसार यसपटक धुन्चे हुँदै ८ हजारभन्दा बढी गोसाइँकुण्ड गएका छन्, भने अन्य तीनवटा रुटबाट पनि धेरै संख्यामा गएका छन्।
तीर्थयात्रीको संख्याबारे पूर्ण विवरण आउन बाँकी रहेको बताएको समितिका अध्यक्ष सन्जीव डिएमले बताउनु भयो ।
धार्मिकस्थल गोसाइँकुण्ड जानका लागि धुन्चे–गोसाइँकुण्ड, ठाडेपाटी–गोसाइँकुण्ड, यार्सा–गोसाइँकुण्ड र सागरकुण्ड–गोसाइँकुण्ड गरी चारवटा पदमार्ग सञ्चालनमा छन् । त्यहाँ पुग्नका लागि तीनवटा मुख्य बाटो छ ।
काठमाण्डौ–धुन्चे–गोसाइँकुण्ड बाटो यात्रुको सबैभन्दा बढी चल्ती हुने बाटो हो । काठमाण्डौबाट धुन्चेसम्म गाडीमा यात्रा गर्न सकिन्छ । त्यसपछि धुन्चे–चन्दनबारी, चन्दनबारी–लौरीबिना र लौरीबिना हुँदै पैदलयात्रा गरेर गोसाइँकुण्ड पुगिन्छ ।
त्यसपछि काठमाण्डौ–सुन्दरीजल-हेलम्बु–ठाडेपाटी बाटो आउँछ । धेरै कम यात्रुहरूले गोसाइँकुण्डको बाटो प्रयाेग गर्ने गरेका छन् । गोसाइँबाबाकाे दर्शन गर्नाले जीवनभर गरेको पापबाट मुक्ति पाउने, पितृ तर्नुको साथै आफूले चिताएको सबै मनोकाङ्क्षा पूरा हुने जनविश्वासका साथ बर्सेनि हजारौैँ भक्तजनहरू कुण्डमा स्नान गर्न आउने गर्दछन् ।
पौराणिक कथनअनुसार परापूर्वकालमा देवता र दानवबीच लडाइँ हुँदा समुद्र मन्थनबाट उत्पन्न कालकुट विष सेवन गरी विषको डाह शान्त पार्न हिमालयखण्डको काखमा आएर गोसाइँबाबा भगवान शिवले आफ्नो हातमा भएको त्रिशूलले भित्तामा हिर्काउँदा भित्ताबाट गङ्गाजल अर्थात त्रिशूलधाराको उत्पति भइ त्रिशूलधाराको पानीबाट गोसाइँकुण्डको उत्पति भएको भन्ने किंवदन्ती रहेको पाइन्छ ।
रसुवाको पर्यटकीय तथा पवित्र धार्मिक तीर्थस्थल गोसाइँकुण्डमा जनैपूर्णिमा र गगांदशहरा गरी वर्षको दुई पटक तीर्थयात्रीले मेला भर्ने गरेका छन्।


अनलाइन डबली

