
काठमाडौं । मध्यपुरथिमि सानोठिमीस्थित बाल सुधार गृहमा भएको युवकको मृत्यु प्रकरणमा जिल्ला प्रशासन कार्यालय भक्तपुरमा मृतक परिवारसँग सहमती भएको छ ।
जिल्ला प्रशासन कार्यालय भक्पुर र मृतक परिवार बीच ९ दिन पछी भएको सहमतीसँगै सोमबार आज मृतकको पोष्टमार्टम गरी दाहसंस्कार गरिने भएको छ । जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा शवपरीक्षण गर्ने, शवपरीक्षणपछि मृतकको दाहसंस्कार गर्ने, मृतक परिवारले भने रु १० लाख क्षतिपूर्ति एवं राहत रकमको माग गर्दै आएका थिए । सुधार ब्यबस्थापन जिम्मा पाएका युसेप नेपालले मृतकको काजकिरिया गर्नका लागि आफ्ना कर्मचारीको केही दिनको तलब काटेर सहयोगस्वरुप दुई लाख सहयोग रकम उपलब्ध गराएको जानकारी दिएको छ ।
पटक पटकको छलफलसँगै सोमबार जिल्ला प्रशासन कार्यालय भक्तपुरमा प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको अध्यक्षतामा प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक प्रजित केसी, सुरक्षा निकायका प्रमुखहरु, युसेप नेपालका निर्देशक केशव सुवाल र प्रतिनिधिहरु तथा मृतक परिवारसँग भएको छलफल सहमतिमा टुगिएको हो ।
रामेछापको मन्थलीका २० वर्षीय कमल बस्नेतको गत भदौ ३ गते बिहान मृत्यु भएपछि मृतकका आफन्त र परिवारले क्षतिपूर्तिको माग गर्दै शव उठाएका थिएनन् । बाल कैदी बन्दिहरुले यही भदौ ३ गते मृतक बस्नेतको समयमै उपचार नगराएको कारण ज्यान गएको भन्दै आफन्तले बाल सुधार गृह अगाडि नाराबाजी गरी तोडफोड गरेपछि दिनभर तनावग्रस्त बनेको थियो । मृतकका आफन्तले नाराबाजी र बाल सुधार गृहका बन्दीले विद्रोह गरेर तोडफोड गरी भोलि पल्ट भदौ ४ गते बन्दि गृहबाट दुई सय २१ जना फरार भएका थिए ।
त्यसैगरी बाल सुधार गृहमा रहेका ५७ जनालाई कारागार विभागले उपत्यका बाहिरका सुधार गृहमा स्थानान्तरण गरेको छ भने, फरार बन्दि मध्ये ६ जना अझै सम्पर्कबिहिन छन् ।