
काठमाडौँ ।प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संसदीय सुनुवाई आज हुने भएको छ। सोमबार आजै बिहान संसदीय सुनुवाइ समितिमा प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठविरुद्ध परेका उजुरीमाथि उजुरीकर्तासँग छलफल पश्चात सुनुवाइ हुने बुझिएको छ।
संसद सचिवालयका अनुसार दुईवटा इमेलबाट उजुरी परेका छन् भने एसके तिमिल्सेनाले भौतिकरूपमै उपस्थित भएर उजुरी दिएका छन्।
यसअघि साउन २३ गते बसेको समितिको बैठकले प्रधानन्यायाधीशमा श्रेष्ठविरुद्ध उजुरी आह्वान गरेको थियो। साउन १८ गते बसेको संवैधानिक परिषद्को बैठकले वरिष्ठ न्यायाधीश श्रेष्ठलाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको थियो। संसदीय सुनुवाइबाट अनुमोदन भएपछि प्रधानन्यायाधीशमा नियुक्त हुने ब्यबस्था छ ।