काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्मा ‘‘प्रभाकर’ले पार्टीमा अब माथिबाट होइन तलबाट मूल्यांकन विधि बसाल्ने बताएका छन् । मत खसालेर नेतृत्व चुन्ने अभ्यास प्रारम्भ हुन बताउँदै त्यसले सङ्गठनमा उथलपुथल ल्याउने बताए ।
पार्टीको सहायक सङ्गठन वाइसियल नेपालको कार्यक्रमलाई सम्बोधन गर्दै प्रभाकरले भने, “अब मूल्याङ्कन माथिबाट होइन तलबाट मूल्यांकन गरेर नेता बन्ने विधि बसालिन्छ । पार्टीमा माथिका नेतालाई मन नपरे राजनीति नै ध्वस्त बनाइदिन सक्ने अवस्था अन्त्य गर्न र नेतृत्वको वरिपरि घुमेर नेता बन्ने असक्षमहरुबाट पार्टीलाई बचाउन पनि निर्वाचन उत्तम विकल्प हो ।”
पार्टीको वागमती प्रदेशका इन्चार्ज समेत रहेका प्रभाकरले कार्यकारी पदमा मतदानबाट चुनिएर नेता हुने बताउँदै सबैलाई चुनावमा उठ्न अवसर प्राप्त हुने र अध्याधिक मत ल्याउने क्रमागत उम्मेदवारहरू निर्वाचित हुने बताए ।
प्रभाकरले जनयुद्धबाट प्राप्त उपलब्धिलाई हल्कारुपले हेर्न नहुने भन्दै व्यवस्था बदल्न हज्जारौं शहिदले बगाएको रगतलाई पार्टी नभुल्ने समेत बताए ।
संविधानले जनतालाई अधिकार सम्पन्न बनाएको र समाजवाद उन्मुख सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा भइसकेको भन्दै प्रभाकरले समाजवाद पुग्न अवैधानिक बाटो हिड्नुनपर्ने समेत बताए ।


अनलाइन डबली



