आज :

कर्नालीको गतिलो सूचना

  • प्रा.डा. माधव प्रसाद पोखरेल

 

  • डा. दीपेन्द्र रोकायाले भनेका दुर्इटा कुरा म कहिल्यै पनि बिर्सन सक्तिनँ। ती मध्ये एउटा कुरो थियो¸ उनले अनेक पल्ट नेपाल¸ भारतको दक्षिणी सीमादेखि कैलास मानसरोवर क्षेत्रसम्म पैदल हिँडेको कुरो। दोस्रो थियो¸ मध्यपहाडी लोकमार्ग बन्नुभन्दा अगाडि नै माओवादी जनयुद्ध कालमा उनले इलामदेखि हुम्लासम्म छापामार लोकमार्गमा पैदल हिँडेको कुरो। यति समृद्ध अनुभव भएको अर्को नेपालीसँग मेरो भेट भएको छैन।

 

  • अरुले “कर्णाली” भन्ने गरेको नदीको नामलाई दीपेन्द्रले “कर्नाली” भनेका छन् । मलाई पनि कर्नाली लेख्नु नै उचित हो भन्ने लागेको छ। धनवज्र वज्राचार्यले पनि कर्नाली नाम नै रोजेका छन् ।

 

  • “परिवर्तनको मूल्यबोध” भन्ने अध्यायमा डा. रोकायाले अत्यन्त काम लाग्ने यस्तो दृष्टि अघि सारेका छन्–अझै पनि हुम्ला र डोल्पाको लागि काठमाडौ दुर्गम लाग्दछ। यो सब बुझाइ र व्यवहारमा भर पर्ने कुरा हुन् । मूलत: मानसिकताको कुरा पनि हो । डा. दीपेन्द्रको यस कुराले के कुराको स्थापना गर्छ भने, जसरी काठमाडौँले हुम्ला र डोल्पालाई दुर्गम भन्दछन्, त्यसैगरी काठमाडौँ पनि त हुम्ला र डोल्पालाई दुर्गम लाग्छ । काठमाडौँबाट देखिएको दुर्गम मात्र ठीक कि हुम्ला र डोल्पाबाट देखिएको दुर्गम पनि ठीक ? यस्तो गतिलो प्रश्न दीपेन्द्रले अघि सारेका छन् ।

 

  • आजसम्म जुम्लीलाई मान्छे नगन्ने प्रवृत्ति काठमाडौँमा जिउँदै छ । जुम्ली शक्तिमा हुँदा मात्र मान्छे हुने र शक्तिमा नहुँदा जुम्ली नै भनिनु पर्ने अवस्था देखिएको छ । त्यसैको फलस्वरूप आजसम्म पनि संवैधानिक¸ कूटनैतिक क्षेत्र र विशिष्ट श्रेणीका पदहरुमा कर्नालीका मान्ठ भेटाउन सकिँदैन ।

 

कर्नालीको मर्म डा. दीपेन्द्र रोकायाको पछिल्लो कृति हो । उनी कर्नाली प्रदेशको योजना आयोगका पूर्व सदस्य हुन् । हुम्लाको रादेउ गाउँमा जन्मेका डा. रोकाया नेपाल विकास अनुसन्धान प्रतिष्ठानका सदस्य हुन् । आर्थिक क्षेत्रमा विकास गर्ने सोचका साथ रोकायाले हुम्लामा घरेलु तथा साना उद्योग विकास समितिले दिएको तालिम लिएका थिए। तर रुचिअनुसार पत्रकार भर्इ दर्जनौ पत्रपत्रिकाको सम्पादन गरेका छन् । रेडियो पनि सञ्चालन गरेको अनुभव छ । नेपाल बौद्धिक मञ्च र नेपाल कर्मचारी प्रशिक्षण प्रतिष्ठानबाट प्रकाशित जर्नलको समेत सम्पादन गरेका छन् ।

सकारात्मक सोचका खानी डा. रोकाया आफ्नो जन्मथलाकै उज्यालो पुस्तकालयका सचिव (२०५१-२०७२) थिए । कर्नाली क्षेत्रमा जन्मेका मान्छे स्वभावैले लोक साहित्य, संस्कृति र देउडाको काव्यात्मकताले धनी हुन्छ भन्ने मलाई लाग्छ । त्यसैले उनी राष्ट्रिय मात्र होइन¸ अन्तर्राष्ट्रिय सांस्कृतिक सञ्जाल नेपाल–क्यानाडा कल्चरल एन्ड फ्रेन्डसिप एसोसिएसनका सदस्य (२०७१- यता) छन् । राजनीतिशास्त्र (प्रथम  श्रेणी)  र ग्रामीण विकासमा एमए (द्धितीय  श्रेणी) अनि राजनीति शास्त्रबाटै नेपालको राजनीतिक द्वन्द्व व्यवस्थापनमा वैदेशिक सहयोगको प्रभाव शीर्षकमा विद्यावारिधि गरेका छन् । उनी माओवादी राजनीतिमा लागेर राजनीतिको शास्त्रीय र व्यवाहारिक दुवै फाँटमा एकसाथ देखा परेका छन् । अन्तर्राष्ट्रिय वामपन्थी संस्था नेपाल–चाइना पिपल्स फ्रेन्डसिप सोसाइटीका सदस्य समेत छन् ।

डा. रोकाया पेसाले पत्रकार हुन्। श्रमजीवी पत्रकार पारिश्रमिक निर्धारण समितिको शुरुवातको सदस्य¸ राष्ट्रिय समाचार समितिको सञ्चालक समिति सदस्य समेत भएका रोकाया समाजवादी पत्रकार मञ्चको २०६८ देखि हालसम्मका अध्यक्ष हुन् । उनले जनादेश साप्ताहिकमा कार्यालय सहयोगीदेखि सह–सम्पादकसम्म भर्इ २०५३ देखि २०६४ सम्म काम गरेका थिए । उनले त्यो समयमा भूमिगत रेडियो रेडियो जनगणतन्त्र नेपाल पूर्वी प्रशारण सेवा (२०६१–२०६२) मा सम्पादक भर्इ काम गरेका थिए । यस्तै नयाँ दूबो साहित्यिक पत्रिका¸ कर्नाली आवाज मासिकको सम्पादन गरेका थिए । वि.सं. २०६२/०६३ को राजनैतिक परिवर्तनपछि नौलो जनसन्देश दैनिकको प्रधान सम्पादक र रेडियो जनआवाजको संस्थापक स्टेशन मेनेजर भएका थिए । जनदिशा दैनिकको २०६४ मा कार्यकारी सम्पादक र २०६९ देखि २०७० सम्म सम्पादक भर्इ काम गरेका थिए । उनी हुम्ली प्रगतिशील साहित्यिक समाजका अध्यक्ष पनि हुन् ।

यसरी स्थानीय¸ राष्ट्रिय र अन्तर्राष्ट्रिय सञ्जालमा चौतर्फी रूपमा संलग्न भएपनि दीपेन्द्र रोकाया आफ्नो कर्नाली क्षेत्रमा नङ र मासु भएर जोडिएका छन् । उनी अथर्व वेदमा भगवान शिवलाई सम्बोधन गरिएका जनै नलगाउने ×व्रात्य” क्षत्रिय हुन् । यस किताबमा उनले नेपाल एकीकरणमा गोर्खालीहरुको आक्रमणले जुम्लाको रोकायाबाराबाट विस्थापित भएर हुम्ला पुग्दा व्यासी थपाल्या कहलाइएका समुदाय बनेको भनेर आफूलाई चिनाउन पुगेका छन् । काठमाडौँमा उच्च शिक्षा लिएपनि डा. रोकायाले आधारभूत शिक्षा लिने काम हुम्लाकै अशुवर्मा प्राथमिक विद्यालय रादेउ, कोट निम्न माद्यमिक विद्यालय रोडिकोट र हिमज्योति माद्यमिक विद्यालय सर्केगाडमा भएको थियो ।

डा. रोकायाले कर्नाली प्रदेशमै केन्द्रित भर्इ कर्नालीको जाति, भाषा र सांस्कृतिक अवस्था, २०७५, हिमाली क्षेत्रको आवासीय शिक्षा प्रवन्धसम्बन्धी सम्भाव्यता अध्ययन, २०७५, कर्नालीको सुरक्षित एकीकृत बस्ती विकासको सम्भाव्यता अध्ययन, २०७४, रुकुम-रोल्पामा युद्ध पर्यटनको सम्भाव्यता अध्ययन, २०६९¸ गोदावरी क्षेत्रको पर्या–पर्यटनको प्रभावसम्बन्धी अध्ययन¸ २०७२ मा अनुसन्धान गरेका छन् ।

त्यति मात्र होइन, कर्नाली प्रदेश सामाजिक विकास मन्त्रालयले नेपाल विकास अनुसन्धान प्रतिष्ठानलाई कर्नाली प्रदेशले कस्तो सामाजिक–सांस्कृतिक नीति लिने भन्ने अध्ययन गर्न लगाएको थियो । त्यस अध्ययन भ्रमणमा डा. रोकाया पनि मसँग १० दिन सँगै घुमेका थिए । त्यसैबेला दीपेन्द्रले भनेका दुर्इटा कुरा म कहिल्यै पनि बिर्सन सक्तिनँ। ती मध्ये एउटा कुरो थियो¸ उनले अनेक पल्ट नेपाल¸ भारतको दक्षिणी सीमादेखि कैलास मानसरोवर क्षेत्रसम्म पैदल हिँडेको कुरो । दोस्रो थियो¸ मध्यपहाडी लोकमार्ग बन्नुभन्दा अगाडि नै माओवादी जनयुद्ध कालमा उनले इलामदेखि हुम्लासम्म छापामार लोकमार्गमा पैदल हिँडेको कुरो । यति समृद्ध अनुभव भएको अर्को नेपालीसँग मेरो भेट भएको छैन।

यो पृष्ठभूमिमा मैले डा. दीपेन्द्र रोकायाको किताबको भूमिका लेख्नु छ । मेरो विचारमा उनले “हिजोको कर्नाली” लाई मात्र समेटेर एउटा पुस्तक र आज र भोलि गरेर अर्को पुस्तक लेखेको भए राम्रो हुन्थ्यो । उनको पत्रकार व्यक्तित्वले कर्नालीको हिजोबारे लेख्न पूर्ण रूपमा लागेको पाइनँ । अरुले “कर्णाली” भन्ने गरेको नदीको नामलाई दीपेन्द्रले “कर्नाली” भनेका छन् । मलाई पनि कर्नाली लेख्नु नै उचित हो भन्ने लागेको छ । धनवज्र वज्राचार्यले पनि कर्नाली नाम नै रोजेका छन् ।

“कर्नालीको मूल” भन्ने अध्यायमा लेखकले कर्नाली नामका अनेक व्युत्पत्ति दिएका छन् । मलाई पनि कर्नालीको मूल मानसरोवर हो भन्ने थियो, किनभने मैले त्यही पढ्दै आएको हुँ, तर डा. रोकायाले मेघ आलेको अध्ययन समूह अनुसार कर्नालीको मूल मानसरोवर नभएर लिपुलेक शृङ्खलाको उत्तरपूर्वी मोहडामा उम्रेको माप्चोचोङ्गो (मयूँरको मुख) हो भन्ने पुष्टी गराएका छन् । माप्चोचोङ्गोदेखि हिल्सासम्म डाँगे खोला¸ काङ्जी खोला¸ खोच्यार खोला र शेर खोला मिसिन्छन् भन्ने सूचना थप्तै रोकायाले माप्चोचोङ्गो नेपालमा पुगेपछि कर्नालीका नामले चिनिएको बताएका छन् ।

हुम्ला जिल्लाको उत्तरी पश्चिमी क्षेत्र हिल्साबाट शुरु भएर बर्दियासम्म बग्ने उक्त नदीले कर्नाली सभ्यता निर्माण गरेको छ अनि सेती, महाकाली समेत मिसिएपछि भारतमा यसको नाउँ घाघरा नदी भएको छ भन्ने दीपेन्द्रको सूचना छ । डा. दीपेन्द्र आफैँ पनि तीनपल्ट (२०५३¸ २०७१ र २०७६) मानसरोवर जाँदा–आउँदा कर्नालीको मूल र यस नदी आसपासको बस्तीबारे जानकारी बटुलेर के भन्दछन् भने तिब्बतमा माप्चोचोङ्गो नदी असपासमा ‍रिङगुम¸ तोयो¸ ठिटी¸ बुराङ¸ कान्जी¸ खोच्यार र शेर नामका बस्तीहरु छन् । यस क्षेत्रको सदरमुकाम बुराङ हो¸ जसलार्इ कर्नालीबासीले ताक्लाखार र नेपालीहरुले ताक्लाकोट भनेर चिन्दछन् । ताक्ला नामको शासकले यसै कोटमा बसेर शासन गरेकाले ताक्लाकोट भनिएको उनको सूचना छ । यसमा कैलास, कर्नाली, कर्नालीका सहायक नदीको भरपुर जानकारी छ ।

देउडामा कर्नालीको संस्कृति, भाका अनि आत्मपरकता र वस्तुपरकताको मिश्रण पाइन्छ। “अर्कान बुजाउन्या मन¸ आफू क्यान रुन्छइ ?” भन्ने देउडामा ज्ञान, व्यथा र अभिव्यक्तिमा लाक्षणिकता देखिन्छ । देउडा गाउने मान्छे जन्मजात कवि हुन्छ भन्ने मेरो मान्यता छ । देउडा कर्नालीको समृद्धि हो । किताबमा डा. दीपेन्द्रको पत्रकार व्यक्तित्वले उनको सामान्य ज्ञान फराकिलो देखिन्छ । पत्रकारिताभित्र के अटाउँदैन ? धर्म, राजनीति, भूगोल, इतिहास, साहित्य, विश्व दर्शन, देश दर्शन, सूचना र सूचना पस्किने परिकार र औपचारिकता, व्यापार, लोक कथा, लोक गीत, लोक इतिहास, किंवदन्ती, पर्यटनका लागि पथ पर्दशक, तिब्बती र खस भाषा आदि अनेक कुराको संगम भएको छ यो किताब ।

वामपन्थीले नास्तिक हुनुपर्छ भन्ने मार्क्सले नै सिकाएका छन्, तर भारतको बङ्गाल र केरलामा लामो समयसम्म शासन गर्ने वामपन्थीहरुले मन्दिर र तीर्थहरुको आर्दश व्यवस्थापन आफ्नै गौरवमय परम्परा ठानेर आस्थापूर्वक गरेको पाइन्छ । नेपालका वामपन्थीहरुले भारतीय, चिनियाँ र रुसी वामपन्थीहरुको सांस्कृतिक आस्था सिक्न उरन्ठेउल्याइँ देखाएका छन् । दीपेन्द्रमा मैले भारतीय वामपन्थीहरुको जस्तो भौतिकवादी मार्क्सवाद र आफ्नो संस्कृति अर्थात् विशेष गरी कर्नाली क्षेत्रबारे जान्ने चाहना बढेको देखेको छु । हजुरले पतुरेर आउने देउता शिव हो र ? भनी शिवबारे जान्न खोजेको पाइन्छ ।

 

“हिजोको कर्नाली”मा “कहिले क्या भयाको छियो¸ लेखोजोखो गर्याइ । इतिहास लेखेर राख्याँ¸ सोधखोज गर्न्या पायार्इ ।।” भन्ने आफ्नै देउडा गीतबाट डा. रोकायाले गम्भीर अर्थ राखेका छन् । त्यसैले उनी स्थानीय धामीहरुले बक्ने पडेलीमा इतिहास खोज्नपर्ने र लोक परम्परालाई आधार मानेर हामीले हाम्रो इतिहासको पुनर्निर्माण गर्नुपर्छ भन्ने विचार व्यक्त गरेको देखिन्छ । धामीको पडेलीमा आएको लोक इतिहासको नमुना दिँदै उनी यस्तो लेख्छन्–

“भोटको लडाइँबाट फर्केर देउताहरुले हिल्साको नौमुलीमा बसी हुम्लाको गाउँठाउँ तथा भू–क्षेत्रको भाग लगाए, जसअनुसार सिमकोटमा कालोसिल्तो बस्यो,  ठेहेमा रामपाल बस्यो, छिप्रामा ल्वासुर बस्यो, लालीमा मइठो (मस्टो) बस्यो, उनापानीमा सर्की बस्यो, कुतीमा कुतिल्सो बस्यो अनि मैलामा मदानो बस्ने गरी महादेवले सबैलार्इ भाग दिदै गयो ।”

‍…शेरीभित्ताको ओढारमा वास बस्दा आँगनमा जौ उमारेपछि कृषि युगको थालनी भयो । महादेउ¸ रादेउ¸ झादेउ¸ हिल्सा¸ भवानी¸ भैराम र देवीहरुका साथै झ्या रानी¸ झ्या गवाला सबै मिलेर बसे । महादेउको पहलमा सबभन्दा पहिले मान्छे बनाइयो । मान्छेलार्इ बाँच्न चाहिने गाँस र बासका साथै संस्कार¸ संस्कृति तथा भाषाको विकास गराइयो । यही क्रममा देउताहरु गाउँ ठाउँका रक्षक बने । यी देउताहरुले एक न एक कुल देउता बनेर समाज सुधार्ने¸ दु:ख परेको बेला उपचार गर्ने¸ अन्याय परेको बेला न्याय दिने र आवश्यक भविष्यवाणी गर्ने समेत काम गर्न थाले ।”

“…हामी छाकमा पञ्च ज्युनार गर्दछौँ । सबभन्दा पहिले कुल देउताको नाम लिएर छेतछेत गर्दछौँ । त्यसपछि चुलो देउताको पूजा गर्दछौँ,  त्यसपछि आफ्ना पितृलार्इ पुज्छौँ अनि छोरी चेलीलार्इ अग्रस दिइ छोरीचेलीको पूजा गर्दछौँ अनि मात्र आफूले खाने हो । यसरी हुम्ला देउताहरुको कर्मथलो भएकाले देवपुरी क्षेत्र भनिएको हो । कालान्तरमा कतिपय देउताहरु अहिले राक्षसजस्ता भइसकेका छन् ।”

र्इशा पूर्व तेस्रो सहस्राब्दीमै आफ्नो मूल थलो छोडेर पूर्वतिर (ताक्लामकान) लाग्दै र्इशा पूर्व १००० तिरै चीनको राजधानी बेइजिङभन्दा पूर्व समुद्र किनार छेउमा पुग्ने भारोपेली जाति तोखार (तुषार) हो । “हिस्ट्री अफ राजस्थान” का लेखक टडले तोखारहरु नै नाग जाति हुन् भन्ने ठहराएका छन् । तोखार, नाग, खस आदि सबै प्रागार्यहरु काश्मीरदेखि काली गण्डकीसम्मको हिमाली लेकमा जमेका छन् । भारतीय उपमहाद्वीप भरि नाग जातिको प्रभाव देखिन्छ । शिवभूमि नेपालमा त संस्कृतिको अभिन्न अङ्ग भएको छ । डा. रोकायाले जुम्ला (यमल) नामको व्युत्पत्ति जम्ल्याहा नागबाट भएको किंवदन्ती अघि सारेका छन् ।

डा. रोकायाको यस किताबका निम्न लिखित लोकाचार र किंवदन्ती उल्लेखनीय छन् :

  • जुम्लालाई “इन्द्रपुरी जुम्लो” भन्ने चलन छ । मस्टालाई इन्द्रको जायो (इन्द्रको छोरो) भन्ने चलन बझाङमा छ । कुनै वर्ष खडेरी पर्‍यो भने, नेपालमा महिलाहरुले राति नाङ्गै गोरु बनेर हलो जोती वर्षाका देउता इन्द्रलार्इ सम्झाउने चलन पनि रोकायाको सूचना छ ।
  • ×हामी ठकुरी रूप फेर्न परे बझाङतिरबाट बिहेवारी चलाउँछौ, बल चाहियो भने जाजरकोटतिर बिहेवारी गर्छौ अनि बुद्धि चाहियो भने कालिकोटतिर बिहेवारी चलाउँछौँ” भन्ने रोचक चलन पनि किताबमा उल्लिखित छ ।
  • योगी नरहरिनाथले कर्नालीको माथिल्लो क्षेत्रमा वन मान्ठ¸ बीचमा कुसुन्डा र सबभन्दा तल राउटे बस्ने गरेको उल्लेख गरेका छन् ।
  • डोल्पाको दुनैमा भूत ढुङ्गा¸ जुम्ला छिनासिमको कालढुङ्गी¸ हुम्लाको ठाडाढुङ्गा र कालिकोट नाग्मको हालाढुङ्गाले महापाषाण युगको जानकारी दिइरहेका छन् ।
  • साउनपुनी तथा गौरा मान्नुको अर्थ शिव र पार्वतीको स्मरण गर्नु हो ।
  • हरेलो चाँहि थपाल्या व्यासी समुदायको नयाँ वर्षको नीति तथा कार्यक्रम सार्वजनिकीकरण हो ।
  • सबै समुदायले मुखमा मुखुण्डो लगाएर बाक्पा खेल्नुको अर्थ भ्रम दिनु वा भयभित समाजलार्इ सहज बनाउनु हो । ढाल चौडाल खेल्नुको अर्थ पुर्खाले लडेका लडाइँका मोर्चाहरुको झझल्को स्मरण गराउनु हो । पगरी बेरेर फुर्का खेल्नुको अर्थ लामो संघर्षपछि विजय उत्सवमा सहभागी हुनु हो ।
  • कर्नाली क्षेत्रका थरको व्युत्पत्ति विभिन्न दराका हाकिमलार्इ अधिकारी¸ राजस्व अधिकृतलार्इ कार्की¸ राजकीय कोषको प्रमुखलार्इ भण्डारी¸ गाउँ प्रमुखलार्इ महतारा र रोकाया¸ सैनिक दर्जाका रूपमा थापा¸ खड्का र बुढाथोकी अनि भट्टलार्इ राजपुरोहित बनाइएको थियो । यही लयमा विभिन्न गाउँठाउँले करिव १०८ भन्दा बढी थर विकास गराएको छ ।
  • कलाको विकासले खस देशको काठ¸ ढुङ्गा र माटोले जीवन पायो । बाजाका ज्ञाता दमाईँ¸ सन्देश प्रचारक हुड्क्या¸ मनोरञ्जन नायक वादी र वास्तुविज्ञ दलितहरुको सम्मान बढ्यो । घरका मुली महिला भए । पुरुषहरु देशका लागि जन्मेका मानिए । दरा–दरामा पैकेलाहरु थिए । उनीहरुले योद्धाका रूपमा प्रख्याति पाएका थिए ।
  • भोट¸ मध्यदेश र अरबसम्ममा व्यापार हुन्थ्यो । सामाजिक सम्बन्ध बढाउन मित लगाउने¸ इष्ट मान्ने¸ सङ्गी र रवाइनो लगाउने चलन बसालिएको थियो ।
  • मेदिनी वर्माले तत्कालीन जुम्ला राज्यलाई पाँच भागमा बाँडेका थिए । जसअनुसार जगतीपुर (जाजरकोट) आफूसँग राखे, पूर्वपट्टिको रुकुम माइला भाइ पीताम्बर वर्मालार्इ दिए, दक्षिणको सामाकोट (सल्यान) साहिँला भाइ सुमेरु वर्मालार्इ दिए अनि पश्चिम विलासपुर (दैलेख) कान्छा भाइ संसारी वर्मालार्इ दिए । यसैगरी उत्तरको जुम्ला ज्वाइँ वलिराज शाहीलाई दिएका थिए । त्यसबेला खाँडाचक्र (मान्म) मा मलय वम राजा थिए ।
  • चन्दननाथले छिनासिमको दह खोल्ने¸ बस्ती बसाल्ने र काश्मीरबाट मार्सी धानको बिउ ल्याएकाले जुम्लीहरुले चन्दननाथ बाबाको प्रशंसा गरेको पाइन्छ ।
  • हिमा नदीले शिजा दरा र तिला नदीले खलङ्गा दरालार्इ खेतीयोग्य भूगोल बनाइ दिएको छ । खलङ्गा बाइसे राज्यकालमा छिनासिमका नामले प्रख्यात थियो ।
  • छिनासिमका प्रथम शासक वलिराजले राज्य सञ्चालनका लागि कर उठाउन भैली खेल्न लगाएका थिए । यसलार्इ आज पनि नेपालीहरुले भैली खेल्दा “हामी त्यसै आएनौ¸ वलिराजले पठाएका” भनी पुकार्ने गरेको पाउँछौ ।
  • बाइसे राज्यहरुमा जुम्ला शक्तिशाली राज्य थियो । डोटी¸ खुम्री¸ गोतामकोट¸ दैलेख¸ दुल्लु¸ अछाम¸ दर्ना¸ सल्यान¸ माल्नेटा¸ छिल्ली¸ जाजरकोट¸ जहारी¸ फलावाङ¸ बझाङ¸ धुलीकोट¸ थराला¸ वाजुरा¸ दाङ¸ रुकुम¸ मुसिकोट¸ वाफीकोट¸ दार्म¸ आठविसकोट¸ सान्नी¸ गजुल¸ मजाल¸ झ्याँकोट र खाँडाचक्रले वर्षेनी जुम्लालार्इ कर बुझाउँथ्यो । नुन बाहेक सबै कुरामा आत्मनिर्भर थियो । आफ्नो स्वतन्त्र व्यापार व्यवसाय तथा कृषि उत्पादनले पुग्दथ्यो ।
  • शक्तिशाली जुम्ला राज्यलार्इ वि. सं. १८४६ को दशैमा नेपाली सेनाले कब्जामा लिएका थिए । राजा शोभान शाही गिरफ्तार भए । काजी सूर्यभान शाहीका साथ लागेर गमगढी¸ चङ्खेली¸ रादेउ¸ सिमकोट¸ याल्वाङ¸ नारालेक हुँदै ताक्लाकोटको तेल्या लेकसम्म विद्रोह भएको थियो । जुम्ला रोकायाबाराबाट त्यसै विद्रोहमा लागेका कारण मेरा आफन्तहरु आज हुम्लामा कोही भोट्या र कोही थपाल्या व्यासी भएका छौँ (सम्पा. रोकाया¸ २०७४¸ पृ. २५–२८)।
  • गोर्खाली सेनाले जुम्ला कब्जा गर्न त्रिपुरासुन्दरी मन्दिरभन्दा दुर्इ डाँडा माथि क्याम्प जमाएर बसे । जब जुम्लाका झराली सेना दशैँ मनाउन घरतिर लागे¸ तब नवमीका दिन छिनासिम कब्जामा पर्‍यो । त्यसै वर्ष कुमाउँ र वि. सं. १८५९ मा गढवाल नियन्त्रणमा आयो । त्यसको तीन वर्षपछि यमुना नदी तरेर त्यहाँको बाह्र ठकुरार्इलार्इ हत्याउन सकियो । यसले गर्दा सतलज नदी पार गर्ने वातावरण बन्यो । तर वि. सं. १८६५ मा भएको काँगडाको युद्धमा पराजय भोग्नु परेपछि नेपालको पश्चिम विजयी अभियानमा विराम लाग्यो।
  • एउटा खसीले चारदेखि १० पाथीसम्मको ल्हुकाल (छालाको दुईमुखे थैली) बोकेको हुन्थ्यो । कर्नालीका असली ट्रक थिए जाग्नाहरु (भेडा च्याङग्राको बथान)। वर्षा भोट र हिउँद पहाड तथा मधेशतिर झर्ने भग्री (भेडाबाख्रा व्यवसायी) को ताँती लाग्दथ्यो । नुन खानेलार्इ नुन पुर्‍याइन्थ्यो । चामल चाहिने ठाउँमा चामल पुर्‍याइन्थ्यो । वस्तु विनिमय गर्ने समय थियो । खुर्सानीको आशामा औलका औल्यालसँग भोटका भोट्याहरुले मित लगाउँथे । नुन र ऊनको आसमा खसहरु भोटका भोट्याहरुसँग रवाइनो (मित) लगाउने चलन बसेको थियो ।
  • भोटको नुन ल्याउने हाट ताक्लाकोटबाट शेरसम्म पुग्यो । त्यो हाट नारा लेक काटेर यारी¸ मुचु¸ याल्वाङ र लिमी भएर टाक्ची¸ केर्मी र लेकधिगासम्म भोटको हाट फाट्टफुट्ट लाग्न थाल्यो । त्यो नुन सिमकोट¸ घट्ट्या¸ पङ्खा¸ ह्याप्स्या¸ देउली¸ गमगढी¸ हाटसिजा हुँदै छिनासिमसम्म पुग्दथ्यो । कोही तुम्च¸ श्रीनगर¸ कोल्टी भएर रास्कोट¸ सान्नी¸ दैलेख¸ जाजरकोट¸ सुर्खेत चिसापानी हुँदै राजापुरसम्म पुग्दथे भने कोही कोल्टीबाट मार्तडी भएर अछाम र बझाङतिर लाग्थे । यस्तै मुगु करान र डोल्पाको धोबाट नुन आउँथ्यो । उनीहरुले नुने बाटो निर्माण गरेका थिए ।
  • भग्रीहरुले पहाड र मधेशका जनसमुदायसँग उठबस गर्दा हिमाल र पहाडमा नयाँ कुरा पुग्दथ्यो । हिमाली क्षेत्रले नेपालको वास्तविक खवर यसैगरी थाहा पाउँथ्यो ।
  • “कत्तासम्म शोभान शाहीय¸ कन्डापुरो हात” यसको अर्थ हुन्छ¸ जुम्लाका अन्तिम राजा शोभान शाही बाइसे राजाहरुमा सबभन्दा शक्तिशाली थिए तर उनको पनि दुवै हात पछाडी पारेर हत्कडी लगाइएको देख्नु पर्‍यो ।

“परिवर्तनको मूल्यबोध” भन्ने अध्यायमा डा. रोकायाले अत्यन्त काम लाग्ने यस्तो दृष्टि अघि सारेका छन्–अझै पनि हुम्ला र डोल्पाको लागि काठमाडौ दुर्गम लाग्दछ। यो सब बुझाइ र व्यवहारमा भर पर्ने कुरा हुन् । मूलत: मानसिकताको कुरा पनि हो । डा. दीपेन्द्रको यस कुराले के कुराको स्थापना गर्छ भने, जसरी काठमाडौँले हुम्ला र डोल्पालाई दुर्गम भन्दछन्, त्यसैगरी काठमाडौँ पनि त हुम्ला र डोल्पालाई दुर्गम लाग्छ । काठमाडौँबाट देखिएको दुर्गम मात्र ठीक कि हुम्ला र डोल्पाबाट देखिएको दुर्गम पनि ठीक ? यस्तो गतिलो प्रश्न दीपेन्द्रले अघि सारेका छन् । यसै कुराको पुष्टिका लागि यस अध्यायका निम्न लिखित बुँदा अघि सारिएका छन् :

  • भनी काँ सकिन्या छ र हाम्मा मन व्यथा !
  • मैले वि.सं. २०६२ साउन–असोजसम्म पूर्व इलामदेखि पश्चिम हुम्लासम्म छापामार लोकमार्गको नाम दिएर यात्रा गरेको थिएँ । यो यात्रा गर्दा मध्यपहाडी लोकमार्ग शुरु भएकै थिएन । यो राजमार्ग पाँचथरको च्याङ्थापुमा शुरु भएर वैतडीको झुलाघाटसम्म १¸७७६ कि.मि. लामो छ । वि.सं. २०६७ सालमा ट्रयाक खुल्न थालेको उक्त सडक कर्नालीमा बाग्लुङबाट प्रवेश गर्दछ । यो यात्रा अनुभूति र देशका ७५ वटै जिल्लाको भ्रमणबाट के निष्कर्ष निकालेको छु भने समग्रमा कर्नालीबारे बुझाइ गलत छ ।
  • डा. कृष्ण पौडेल भन्दछन्, “उडुवा चामलले हामीलाई परनिर्भर बनाएको छ ।” अन्न भन्नाले धान¸ गहुँ र मकै मात्र होइनन् । हामी कहाँ हुने फापर¸ जौ–उवा¸ कोद्या¸ चिनु¸ कागुनो¸ मार्स्या¸ नाफल पनि हुन् । यिनमा औषधीय गुण रहेको छ । हामीलार्इ अल्पविद्या भयंकरीहरुले कु अन्न खाएको बताए, भात खान पाउँदैनन् भनी गिज्याए। अहिले भातभन्दा स्थानीय उत्पादन स्वास्थ्यकर छ भन्ने कुरो विज्ञानले प्रमाणित गरी दिएको छ, तर काठमाडौँले कर्नालीबासीलाई खान नपाउने क्षेत्रका जनता भनेर प्रमाणित गरेको छ । यसलाई दीपेन्द्रले दुत्कार्दै “भाते राजनीति” भन्ने गरेका छन् ।
  • ×कर्नालीमा भातै खुवाउने कार्यको पछाडि विभिन्न अन्तर्राष्ट्रिय संस्था र कर्मचारीहरूको एउटा गिरोह छ, जसले चामल नदिए जनता भोकै हुन्छन् भन्ने खराब भावना भरिदिएको छ । चामलको मोल जति पर्छ, त्योभन्दा बढी खर्च ढुवानीमा हुन्छ । आलु युरोपका विभिन्न मुलुकमा मुख्य खानाको रूपमा प्रयोग हुन्छ भनेर कृषि तथा सहकारी मन्त्रालय नै भन्छ । तर, त्यही आलुलाई कर्नालीमा चाहिँ मुख्य खानाको रूपमा मान्न तयार हुँदैन खाद्य संस्थान (उप्रेती¸ २०७६ माघ ३) ।”
  • शिजाकालीन खस राज्यले सात पटक काठमाडौँ आक्रमण गरेर करादीमा छोडेको थियो । खसहरुले भातभान्सा गरेको ठाउँमा रातो चामलका सिता देखेर काठमाडौबासीले अचम्म मानेका कहानीहरु सुनिन्छन् । त्यसलार्इ गोर्खालीहरुले छिनासिम कब्जा गरेपछि चन्दननाथ गुठीबाट दैनिक दिन दुर्इ माना चामल पठाउनु पर्ने व्यवस्था गरिएको थियो, जसका कारण नेपालमा हुलाक सेवा शुरु भएको थियो । तर आजसम्म जुम्लीलाई मान्छे नगन्ने प्रवृत्ति काठमाडौँमा जिउँदै छ । जुम्ली शक्तिमा हुँदा मात्र मान्छे हुने र शक्तिमा नहुँदा जुम्ली नै भनिनु पर्ने अवस्था देखिएको छ । त्यसैको फलस्वरूप आजसम्म पनि संवैधानिक¸ कूटनैतिक क्षेत्र र विशिष्ट श्रेणीका पदहरुमा कर्नालीका मान्ठ भेटाउन सकिँदैन ।

यस्ता धेरै गतिला कुरा पाठकले डा. रोकायाको यस किताबमा पाउँछन् । यसमा डा. रोकायाले विश्वलार्इ आकर्षित गर्ने “विम्व फेर्न्या रैबार” र “गन्तव्य कर्नाली” का सन्देशले कर्नालीको सुन्दर भविश्य देखाइरहेको पाइन्छ । यो किताब पढेर मैले पनि कर्नालीबारे केही नयाँ कुरा जान्न पाएँ । यद्यपि कुन गुरुको ऋण लागेको छ, डा. दीपेन्द्र रोकायालार्इ ? “हिजोको कर्नाली” मै एउटा सिङ्गै किताब नलेखी त्यो ऋणबाट उहाँ मुक्त नहुने देखेको छु ।

लेखक भाषाविद तथा नेपाल विकास अनुसन्धान प्रतिष्ठानका पूर्व अध्यक्ष हुनुहुन्छ।

 

 

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal