काठमाडौं । राजदुतका लागि प्रस्तावित तीनजनाको संसदीय सुनुवाइ प्रक्रिया सकिएको छ।
आज बसेको सुनुवाई समितिको बैठकले, न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयका लागि प्रस्तावित नेपाली स्थायी प्रतिनिधि लोकबहादुर थापा, जेनेभास्थित राष्ट्रसंघीय नियोग र स्वीट्जरल्याण्डका लागि प्रस्तावित राजदूत रामप्रसाद सुवेदी र फ्रान्सका लागि नेपाली राजदूत सुधीर भट्टराईको संसदीय सुनुवाइ सकेको हो ।
प्रस्तावित ६ मध्ये संयुक्त अरब इमिरेट्सका लागि तेजबहादुर क्षेत्री, कुवेतका लागि घनश्याम लम्साल र थाइल्यान्डका लागि प्रस्तावित राजदूत धनबहादुर ओलीको सुनुवाइका लागि बिहीबार १२ बजेर १० मिनेटमा बैठक बोलइएको छ ।
सरकारले प्रस्ताव गरेका सबै ६ परराष्ट्र सेवामा लामो समय बिताएका अधिकारीहरु हुन् । यीमध्ये बुधबार सुनुवाइ गरिएका राष्ट्रसंघीय मुख्यालयका लागि प्रस्तावित थापा बेल्जियम तथा युरोपेली युनियनका पूर्व राजदूत हुन भने उनले अहिले परराष्ट्र मन्त्रालयमा चीन, जापान र दक्षिण कोरिया लगायतका मुलुक हेर्ने उत्तर–पूर्वी महाशाखा प्रमुख छन ।
त्यस्तै जेनेभास्थित राष्ट्रसंघीय नियोग र स्वीट्जरल्याण्डका लागि प्रस्तावित राजदूत सुवेदी भारत–पाकिस्तान लगायत मुलुक हेर्ने दक्षिण एसिया महाशाखा प्रमुख हुन् । फ्रान्सका लागि प्रस्तावित राजदूत भट्टराई परराष्ट्र मन्त्रालयको शिष्टाचार महापाल चिफ अफ प्रोटोकल हुन् ।
आजको संसदीय सुनुवाइमा प्रस्तावित राजदूतहरु थापा, सुवेदी र भट्टराईले आ–आफ्नो कार्ययोजना प्रस्तुत गरेका थिए।