काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करीको अनुसन्धान जरैसम्म पुर्याउन निर्देशन दिएको बताएका छन् । आज गृहजिल्ला गोरखामा प्रेस सेन्टरले आयोजना गरेको कार्यक्रममा बोल्दै श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बरामत गरेको सुनको अनुसन्धानलाई जरैसम्म पुर्याउन सम्बन्धीत निकायलाई निर्देशन दिएका बताएका हुन् ।
अनुसन्धानको प्रक्रिया अघि बढाउँदा जरैसम्म पुग्न निर्देशन दिएको बताउँदै श्रेष्ठले अनुसन्धानको आधारमा दोषी देखिएका सम्बन्धित सबैलाई कारबाहीको दायरामा ल्याइने समेत बताए । “जरैसम्म पुग्न निर्देशन दिएका छौं । यसको स्रोतसम्म पुग्छौं, प्रारम्भमा पुग्ने भनेको जसले ट्याक्सीमा लग्यो, जसले अर्को ठाउँमा पुर्यायो, जसले फेला पार्यो त्यसैलाई अनुसन्धान गर्ने न हो” श्रेष्ठले भने ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ ढंगले व्यवस्थापन गरिने पनि गृहमन्त्री श्रेष्ठले बताए । “प्रारम्भिक रूपमा हामीले आगमन कक्षमा लगेजको स्क्रिनिङ होस् वा कार्गोको स्क्रिनिङ होस् प्रहरी उपस्थिति नहुने अहिलेको व्यवस्था परिवर्तन गरेर प्रहरीको उपस्थिति गराउने, प्रविधिसहित नयाँ ढंगले व्यवस्थापन गर्ने सोच बनाएका छौँ, गम्भीर छलफलका साथ नयाँ योजना बनाउन पहल गरिरहेका छौँ” श्रेष्ठले संचारकर्मीसँग भने ।
सरकारले चलाएको भ्रष्टाचार विरोधी अभियान नरोकिने समेत बताए ।


अनलाइन डबली



