काठमाडौँ । कान्ति बाल अस्पतालमा डा. सुनिल गजुरेलले विचौलियको रुपमा काम गर्दै आएका छन् । उनी अस्पतालको दरबन्दीमा कार्यरत भने होइनन् । अस्पताल स्रोतका अनुसार डा. गजुरेलले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) बाट सेवा सुविधा लिँदै आएका छन् ।
अस्पताको निर्देशकमा डा. युवानिधि बसौला नियुक्त भएपछि गजुरेललाई डब्ल्यूएचओबाट तलव खानेगरी सहयोगीको रुपमा ल्याएका हुन् । बसौलाले उनलाई विचौलियाको रुपमा काम लगाइरहेको आरोप अस्पतालभित्र छ ।
अस्पतालमा हुने खरिद प्रक्रियामा निर्देशक बसौलाको तर्फबाट विभिन्न कम्पनीसँग गजुरेलले डिल गर्दै आइरहेको एक कर्मचारीले बताए । गजुरेलले बसुन्धरास्थित मगर हाउस नामक एक रेष्टुरेन्टमा विभिन्न कम्पनी तथा व्यक्तिसँग गोप्य भेटघाट गर्दै आइरहेका छन् । प्रायः दैनिक रुपमा गजुरेलले उक्त रेष्टुरेन्टमा दारुपानीको व्यवस्था गर्ने गरेको र त्यहीबाट कमिसन असुल्दै आएको स्रोतको दाबी छ ।
अस्पतालभित्र पनि गजुरेलले सरकारी दरबन्दीका चिकित्सक र कर्मचारीहरुलाई निर्देशक बसौलाको नाम लिँदै नाजायज धम्की र दवाव दिँदै आएका छन् । निर्देशक बसौलाले गजुरेललाई आफ्नो आधिकारिक व्यक्तिको रुपमा स्थापित गरेका छन् । त्यसैको फाइदा लिँदै उनले दादागिरी र असुली धन्दा चलाइरहेका छन् ।
निर्देशक बसौलाले डब्ल्यूएचओ र सहयोगी संस्थाहरुले संचालन गरेका कार्यक्रम र अस्पतलसँग समन्वय गर्नेगरी गजुरेललाई ल्याएका थिए । तर, अहिले अस्पतालका सम्पूर्ण काममा खटाइएको बताइएको छ ।
“गजुरेलजीलाई सहयोगी संस्था र अस्पतालबीचको पुलको रुपमा काम गर्ने गरी निर्देशकज्यूले सहयोगीको रुपमा ल्याउनु भएको हो तर अहिले अस्पतालको सम्पूर्ण कामकारवाहीमा हस्तक्षेप गरिरहेका छन्” एक कर्मचारीले अनलाइन डबलीसँग भने ।
निर्देशक बसौलाले अधिकारको दुरुपयोग गरेर असम्बन्धी व्यक्तिलाई अधिकार दिएर अस्पतालका चिकित्सक तथा कर्मचारीको मनोबल कमजोर बनाउने कार्य गरेको आरोप लाग्दै आएको छ । कर्मचारीहरुले गजुरेलको हर्कतको विरोध गरेपनि निर्देशक बसौलाले कुनै सुनुवाई गरेका छैनन् ।
डब्ल्यूएचओले डा. गजुरेललाई दिएको जिम्मेवारी भन्दा पनि बाहिरको काममा लागेका छन् । यसले डब्ल्यूएचओको नै बदनाम हुने अवस्था सिर्जना भएको छ ।
निर्देशक बसौलाका छोराबुहारीलाई अमेरिकामा उच्च शिक्षा अध्ययनको लागि खर्च जुटाउन पनि बिचौलिया गजुरेललाई प्रयोग गरेको आरोप छ ।