काठमाडौँ। आजबाट नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजेबाट सुरु हुनेछ । एक वर्ष पछि बस्न लागेको बैठकमा समसाहुकिक राजनीतिक विषयसँगै एकवर्ष सम्म पदाधिकारी तथा कार्यसम्पादन समितिले गरेका निर्णयहरू अनुमोदन गर्ने एजेण्डा रहेको छ ।
त्यसैगरी भातृ सङ्गठन सम्बन्धी गरेको निर्णय र विस्तार तथा कार्ययोजना, कार्यतालिका मुख्य एजेण्डा रहेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेता बालकृष्ण खाँणलाई निलम्बन गर्ने वा नगर्ने विषयमा नेताहरुबीच लामो समयदेखि विवाद कायमै छ ।
सभापति शेरबहादुर देउवाले अदालतको फैसलापछि मात्रै थप निर्णय गर्ने अडान लिएका थिए । अदालतले जेल पठाउने फैसलापछि महामन्त्री गगन कुमार थापाले निलम्बनको माग गर्दै आएका छन् । तर, सभापति देउवाले फेरि पनि पुनरावेदनको फैसला कुर्ने अडानमा छन् ।
मंगलबार बसेको पदाधिकारी बैठकले अहिले निलम्बन नगर्ने निर्णय गरेको एक नेताले बताए । देउवाकै प्रस्तावमा खाँणलाई यो बैठकले पनि निलम्बन नगर्ने भएको छ ।
गत सोमबार सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकले तय गरेको एजेन्डा अनुसार कार्यसम्पादन समितिले गरेका निर्णय अनुमोदन गरिने भएको छ ।
यसैगरी, महाधिवेशन सम्पन्न गरेको ६ महिनामा गर्ने भनिएको नीति अधिवेशनका बारेमा पनि बैठकमा छलफल हुनेछ । जसअनुसार नीति महाधिवेशनको मिति र स्थान तय गरिने जनाइएको छ ।