पोखरा। प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारविरूद्ध अनुसन्धानको कार्यले थप तीब्रता पाउने बताएका छन् । शनिबार दिउँसो पोखराका सञ्चारकर्मीहरूसँग अन्तरक्रिया गर्दै प्रधानमन्त्रीले सो कुरा बताएका हुन् ।
“बजेट पास होला कि नहोला भन्ने तरंग थियो। बिनियोजन विधेयक पारित भइसकेपछि यो तरंग अन्त्य भएको छ, यसपटक हामीले भिन्न ढंगले नै काम सुरू गरेका छौँ। यो सामान्य मात्र नभएर विशिष्ट प्रकृतिको छ। जनताले भोगका समस्या सम्बोधन गर्न हाम्रो पूरै कोसिस गरिएको छ। विदेशमा रहेका लाखौँ नेपाली श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गरेका छौँ, यसको दूरगामी अर्थ छ” प्रधानमन्त्रीले भने ।
भ्रष्टाचार देशको बिकराल समस्या भएको बताउँदै प्रधानमन्त्रीले नक्कली भुटानी शरणार्थी र ललिता निवास प्रकरणमा सरकार दृढताका साथ अगाडि बढेको बताए । थप तीब्रताको साथ सरकार अघि बढ्ने समेत प्रधानमन्त्रीले जानकारी गराए ।
धरासायी बन्दै गएको अर्थतन्त्र बिस्तारै लयमा फर्किएको बताउँदै प्रधानमन्त्रीले भारत भ्रमण ऐतिहासक भएको बताए । राष्ट्रको हितमा भारतसँग धेरै महत्त्वपूर्ण समझदारी भएको बताउँदै प्रचण्डले भारतीय प्रधानमन्त्रीले आफै सीमा समस्या हल गरिन्छ भन्ने कुरा ठूलो विषय भएको बताए । यसअघि भारतका कार्यकारी प्रमुखले यसबारे नबोलेको समेत प्रधानमन्त्रीले बताए ।
“पारवाहन सन्धि पुनरावलोकन पनि महत्वपूर्ण निर्णय हो। विद्युत व्यापार सम्झौता पनि सामान्य कुरा होइन। १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यात गर्ने समझदारी सामान्य होइन। यसले विद्युत व्यापार पनि बढ्छ, लगानीको ढोका पनि खुल्छ। यो आउने पिँढीले पनि सम्झिरहने काम हो” प्रधानमन्त्रीले भने ।
आफू ूराष्ट्र र जनताप्रति इमानदार भएर काम गरिरहेको बताउँदै प्रधानमन्त्रीले आफू छिट्टै चीन भ्रमणको तयारुी भइरहेको बताए ।