Latin भाषाको Directus शब्दबाट बनेको ” ड्रेस ( Dress ) ” को नेपाली अर्थ ” पोशाक ” भन्ने हुन्छ । सामान्य अर्थमा पोशाक भन्नाले कुनै पनि ब्यक्तिले पहिरिने वा लगाउने लुगा हो । यो औपचारिक तथा अनौपचारिक दुबै हुन सक्छ ।
युनिफर्म ( Uniform )
Latina भाषाको Uniforme र French भाषाको Uniformis बाट युनिफर्म ( Uniform ) बनेको हो । जसको अर्थ सबै अवस्थामा र सबै समयमा समान ( रूप वा चरित्रमा अपरिवर्तित ) रहनु हुन्छ। यो औपचारिक मात्र हुन्छ ।
सबै युनिफर्महरु ड्रेस हुन तर सबै ड्रेस युनिफर्म हुन सक्दैनन् ।
ड्रेसको प्रयोग सबै ठाउँमा हुन्छ , तर युनिफर्मको प्रयोग निश्चित जिम्मेवारी निर्वाह गर्दा हुन्छ ।
जस्तो प्रहरीले आफ्नो ड्युटी गर्दा लगाउने जुन प्रहरीको सस्था तथा सम्बन्धित निकायले नियम अनुसार तोकेको हुन्छ । ड्रेस आफ्नो व्यक्तिगत चाहना बमोजिम प्रयोग गर्न सकिन्छ तर युनिफर्म संस्थाको नियमले स्पष्ट पारेको हुन्छ । जस्तो कुनै पनि व्यक्ति व्यक्तिगत चाहना बमोजिम घुम्दा कस्तो ड्रेस प्रयोग गर्ने उसको इच्छा हो । यसमा कुनै पाबन्दी हुदैन । तर त्यही व्यक्ति विद्यार्थी हो र पढ्न जान्छ भने र उक्त संस्थाले कुनै निश्चित किसिमको कपडा तोकेको छ भने त्यो युनिफर्म हो ।
हाम्रो समाजमा ड्रेस र युनिफर्म समानार्थी को रुपमा प्रयोग गरेको पनि पाइन्छ । केही हद सम्म त्यो हो पनि तर अन्तर्यमा हेर्दा केही भिन्नता छ । हामिले लगाउने जुन सुकै कपडा ड्रेस हो । तर कुनै पनि सस्था जहाँ हामी सम्बन्धी छौँ र उक्त संस्थाले तोकेको कपडा युनिफर्म हो । स्कुलको ड्रेस अनि आउट ड्रेस भन्ने हामी सबैले सुनेको छौँ र भन्ने पनि गरेका पक्कै छौँ होला ।
युनिफर्म किन चाहिन्छ ?
कुनै पनि सस्था एकजनाले मात्र चल्दैन । संस्थामा जोडिने व्यक्तिहरू विभिन्न पृष्ठभूमि बाट आएका हुन्छन् । धार्मिक , सामाजिक , आर्थिक , लैङ्गिक … आदि इत्यादि । यसरी विभिन्न परिवेशका व्यक्तिहरूबीच समानता होस भनेर युनिफर्म चाहिन्छ । यसो भनिरहदा समानता किन चाहियो भन्ने पनि लाग्न सक्छ ? तर प्रत्येक ब्यक्तिहरूको आ- आफ्नै खालको आचरण हुन्छ ।
आखाले देखिने फरक हुँदा माथि उल्लेखित विविधतालाइ कारक बनाएर नै आपसी भिन्नता सिर्जना हुन्छ जसले मानिसमा प्रत्यक्ष तथा अप्रत्यक्ष नकारात्मक मानसिक दबाब पर्न जान्छ । जस्तो एउटा विद्यालयमा पढ्ने विद्यार्थीहरूका विभिन्न प्रकारका हुन्छन । आर्थिक हैसियत अनुसार हामिले लगाउने ड्रेस फरक फरक हुन पनि सक्छ , त्यस्तो हुँदा तुलनात्मक रुपमा एक भन्दा अर्कोको भिन्न ड्रेस हुन्छ , यसरी भिन्न ड्रेस भएकै कारण राम्रो हुनेले नराम्रो सुसेलाइ गिज्याउन सक्छन् र नहुने स्वयम् पनि आफै मानसिक दबाबमा हुन सक्छ । यस्ता भिन्नता धेरै हुन्छन त्यसैलाई समान बनाउन पनि युनिफर्म आवश्यक हुन्छ ।
भिन्नताहरूलाई समान देखाउनुको साथै युनिफर्मले निम्न कुरामा पनि महत्व राख्दछ ।
• आत्मविश्वास वृद्धि गर्दछ ।
• सुरक्षा प्रदान गर्दछ ।
• आकर्षक बनाउँछ ।
• पहिचान र परिचय दिन्छ ।
• अनुशासित बनाउँछ ।
• अपनत्व प्रदान गर्दछ ।
महत्वहरु धेरै छन , त्यसबारे फेरि चर्चा गरौँला । हामी यहाँ मुख्यतया ड्रेस र युनिफर्मको चर्चा गर्दैछौँ ।
के कुनै संस्थाले प्रयोग गर्ने बित्तिकै त्यो युनिफर्म हुन्छ त ?
संस्थागत प्रयोगलाई मात्र युनिफर्म भन्न पनि सकिन्न , यस्तो भनियो भने युनिफर्म हुनको लागि कपडाको रङ्ग मात्र मिले पुग्छ । तर युनिफर्म हुनको लागि डिजाइन पनि एउटै हुन जरुरी छ । हामिले माथि पनि भनेका छौँ कि रूप र चरित्रमा अपरिवर्तित । भनेको अर्थ हेर्दा रङ्ग मात्र हैन डिजाइन पनि दुरुस्त हुनु पर्छ ।
नेपालीमा भनिन्छ नि ” नानी देखि लागेको बानी , कहिले नजानी ” त्यसैले हामिले युनिफर्मको कुरामा बच्चादेखि नै बानी बसाउन नितान्त जरुरी छ । अनुशासित व्यक्ति मात्र साचो अर्थमा सफल हुन्छ । युनिफर्म आफैमा अनुशासन हो ।युनिफर्मलाई इज्जत गर्न जानेको व्यक्ति अनुशासित नहुने हुन सक्दैन।
हाम्रो सामान्य चेतनाले भन्छ ” युनिफर्म त हो जस्तो भए पनि हुन्छ ” तर हामी यो बुझ्दैनौ कि त्यही युनिफर्म सङै हामी हाम्रो सन्तानको भविष्य निर्माण गर्दैछौँ । गुणस्तरीय वस्तु बनाएर मात्र हुदैन त्यसको सुन्दर प्याकेजिङ गर्न पनि जान्नु पर्दछ ।
प्रमाणपत्रमा राम्रो अङ्क लेखाउन सफल विद्यार्थी पनि युनिफर्म को सही छनौट गर्न नजान्दा असफल भएका धेरै उदाहरण पाउन सकिन्छ । त्यसको कारण हो तपाईं हामिले भन्ने गरेको कथन ” ड्रेस त हो चलिहाल्छ ” ।
मैले धेरै त्यस्ता मानिसहर भेटेको छु जसले डिग्री राम्रो बोकेको हुन्छ तर कोट र टाइको प्रयोग गर्न जानेकै हुदैन । यो भन्दा रिस उठ्ला तर त्यो रिस त्यतिबेला मर्छ जतिबेला आफुले लगाएको ड्रेसमा आफू असहज भएर आफ्नो शत प्रतिशत दिन नसकेर असफल बनिन्छ ।
युनिफर्म तथा ड्रेस आजको दिनमा मानव जीवनमा सफलताको सुत्र जस्तै हो । हरेक व्यक्तिको मल्याङ्कन उसले लगाउने ड्रेसबाट हुने गर्दछ । सही स्थानमा सही ड्रेस तथा युनिफर्मको छनौट नहुदाँ असफल मात्र हैन ,मानसिक दबाब पनि खेप्नु पर्ने हुन्छ ।