आज :

बिक्रम सम्वत् को सुइरुवात, उज्जैनका राजा बिक्रमादित्य संग जोडिएको आख्या र इतिहाँस

  • बुद्धशरण शाही

आज बात नेपाली नयाँ बर्ष बिक्रम सम्वत् २०८३ को सुरुवात भएको  छ । इतिहाँसमा फर्किदा यो सम्बत् को शुरुवात  चन्द्रशम्शेरले देशमा ज्योतिषहरूको ठूलो सम्मेलन गराई बि.सं. १९६१ मेष संक्रान्तीलाई नयाँ वर्षको शुभारम्भ गराएको पाइन्छ । यस अगाडी नेपालमा शक सम्वत् र नेपाल सम्वतको प्रचलनमा थियो ।

बिक्रम सम्बत वास्तवमा भारत उज्जैनका राजा बिक्रमादित्य (वास्तविक नाम राजा बिक्रम) ले शुरुवात गराएका थिए । नेपालमा समय समयका शिलालेख तथा ताम्रपत्रहरुमा बिक्रम सम्वतको उल्लेख भएको भेटिएपनि आधिकारिक रुपमा उपत्यकाका कुनै पनि राज्यले आफ्नै सम्बतको रुपमा बिक्रम सम्वतलाई स्विकारेका थिएनन् ।

नेपालमा राणाकालको शुरुबाट नै प्रशासनिक रुपमा बिक्रम सम्बत् चलाउन थालिए पनि यसमा धेरै अप्ठेराहरु थिए । चन्द्रमासको आधारमा शुरु गरिएको बिक्रम सम्वतमा चन्द्रमासका शुक्ल पक्षका दिनहरुलाई सुदि १ देखी १५ सम्म तथा कृष्ण पक्षका दिनहरुलाई वदि १ देखी १५ भनिन्थ्यो । जसले गर्दा साल केवल ३६० दिनको हुने गर्दथ्यो । हरेक तिन वर्षमा बन्ने पुरुषोत्तम मासले गर्दा कर्मचारीलाइ १३ महिनाको तलव दिनु पर्ने बाध्यता हुन थाल्यो । जसले गर्दा चन्द्रशम्शेरले देशभरिका प्रमुख ज्योतिषहरुको भेला गराएर सहज निर्णय गर्न लगाएको मानिन्छ । जसको फलस्वरुप ज्योतिषिहरुको सल्लाह बमोजिम  बिक्रम सम्बतको नयाँ प्रारुप तयार गराए ।

जस अनुसार हरेक सालको पहिलो दिन बैशाख १ गते मेष राशीमा प्रबेश गर्ने दिनबाट गणना गर्ने गरि नवबर्षको घोषणा गर्ने भयो भने महिनाका दिनहरु थपघट हुने गरि मिलाइयो । कार्तिक देखि फागुनसम्मका महिना २९ वा ३० दिन हुने । चैत र बैशाख ३० वा ३१ दिनका हुने । जेठ देखि भदौसम्मका महिना ३१ वा ३२ दिनका हुने र असोज ३० वा ३१ दिनको हुने गरि चन्द्र मासका अप्ठेराहरुलाइ सहज बनाइयो ।

चन्द्रशम्शेरको समयमा बनाइएको बिक्रम सम्बत नै अध्यावधी चलिरहेको छ । तर पनि हामी २४ दिनले ढिला भएका छौँ । केही ज्योतिषहरुले बिक्रम सम्वत् का कारण पर्व तिथिहरू थप घत हुदै गएको भन्दै  पर्व सुधार गर्नु पर्ने  सुझाब प्रतिवेदन सरकारलाई बुझाइए पनि सो कार्यान्वयन हुन सकेन ।

केहो बिक्रम सम्वत् संग जोडिएको आख्यान ?

राजा अशोकले आफ्नी छोरी चारूमतीको विवाह देवपत्तन पशुपतिका देवपालसँग गराई भारत फर्किएपछि राजा अशोककै नियुक्तिमा भारत कान्चिका राजपुत्र धर्मदत्तलाई नेपाल पठाए, वंशावलीमा उल्लेख छ ।

१४ औं किराती राजा स्थुङकोकोलाई अधीनवर्ती बनाई राजा धर्मदत्तले विशालनगर राजधानी बाट आफ्नो राज्य टोखादेखि साँखुसम्म विस्तार गरे। नौ छोरा र मन्त्री बुद्धिक्षेमका साथ नेपाल आएका वैशालीपति धर्मदत्तले पशुपतिनाथ मन्दिरको उत्तर-पश्चिम कुनामा धर्मदत्त चैत्य स्थापना गरी सुन बनाउने पारसमणि प्राप्त गर्न बज्रयोगिनीको १२ वर्षसम्म ध्यान वसे । जसका लागि राजा धर्मदत्त प्रत्येक दिन टोखा सपनतीर्थ नुहाई घोडामा साँखु वज्रयोगिनी पुगी ध्यान वस्दथे ।

किंवदन्तीअनुसार राजा धर्मदत्तले सधै मन्दिरमा रहेको ठूलो कराईमा तेल तताई ऋद्धिवलको माध्यमवाट आफूलाई पाक बनाउने र प्रसादस्वरूप देवीमा समर्पित गर्दथे । त्याग भावनाबाट प्रशन्न देवीले १२ वर्ष पुग्नु एक दिनअगाडि भनिन्- भोलि विहान शुभमुहूर्तमा नै आउनु म तिमीलाई पारसमणि बनाउने सूत्र बताइदिनेछु । उक्त कुरा विक्रमादित्यले सुनी भोलिपल्ट आफै राजाभन्दा पहिले पुगी आफूले आफैलाई पाक बनाएर देवीलाई समर्पण गरेछन् । देवीले विक्रमादित्यलाई नै धर्मदत्त सम्झी पारसमणि बनाउने सूत्र दिइछन् ।

परचक्रीसामु गोप्यता जोगाउन नसकेकोमा आत्मग्लानिवश राजा धर्मदत्तले धर्मदत्तले विक्रमादित्यलाई नै राज्य सुम्पी आफूले वज्रयोगिनी देवीकै ध्यानमा विताइदिए । जुनस्थान मन्दिर पछाडि भग्न बुद्धको चैत्य विक्रमादित्यको टाउको भुइतलामा र माथिल्लो तलामा म्हासुख्खामाजु वज्रयोगिनीको जात्रा गर्ने मूर्ति घरमा प्रतिस्थापित रहेको  छ । त्यही बेलादेखि नेपालमा विक्रम संवत् विक्रमादित्यले शुरू गरेको आख्यान छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal