दैलेख । सपनाको खेती गर्न सात समुद्र पार गरेर परदेशको तातो बालुवामा पसिना बगाउन जाने युवाहरूको लर्को लागिरहेका बेला दैलेखको गुराँस गाउँपालिकाका कृषकहरूले भने आफ्नै पाखा–पखेरामा उत्पादन गरेर मुलुक लाई नै नयाँ सन्देश दिएका छन् । कुनै समय बाँझो रहेका, काँडाघारीले भरिएका र केवल घाँस–दाउरामा मात्रै सीमित यहाँका राता माटाका जग्गाहरूमा मौषम अनुसार कार्तिक देखी माग सम्म उत्पादन हुने सुन्तला र आज भोली उत्पादन हुने दानादार आलुका कारण गराहरु मनमोहक देखिएका छन् । आफ्नै माटोको सुगन्धमा रमाउँदै यहाँका किसानहरूले करोडौँको आम्दानी गरेर गाउँमा खुसीको रङ्ग भरेका छन् ।
वैदेशिक रोजगारीको मृगतृष्णा लाई तिलाञ्जली दिएर माटो सँग अटुट साइनो गाँस्नुभएका गुराँस गाउँपालिकाका १८ जना जाँगरिला कृषकहरूको समूहले यतिबेला जिल्लामै ठूलो कृषि क्रान्ति ल्याएका छन् । वार्षिक करिब ३ करोड रुपैयाँ भन्दा बढी आम्दानी गाउँमै भित्राएर उहाँहरूले कृषि लाई केवल निर्वाहमुखी पेशा मात्र नभई सम्मानित र आकर्षक व्यवसायका रूपमा स्थापित गर्नुभएको छ ।
यस कृषि अभियानका एक सशक्त र बलिया खम्बा हुनुहुन्छ, गुराँस गाउँपालिका–६ का कृष्ण आर.सी. । उहाँ लाई देख्दा लाग्छ, यदि मानिसमा अठोट, धैर्यता र जाँगर हुने हो भने माटोले कहिल्यै कसै लाई धोका दिँदैन । आर.सीले यस वर्ष मात्रै सबै लगानी र खेतीको खर्च कटाएर २७ लाख रुपैयाँ ’चोखो’ शुद्ध नाफा आर्जन गर्नुभएको छ । यो सफलताको पछाडि उहाँको अहोरात्रको खटाइ र माटो सँगको अनन्य प्रेम लुकेको छ ।
उहाँले यस सिजनमा २०० क्विन्टल सुन्तला प्रति किलो ८० रुपैयाँका दरले १६ लाखमा बिक्री गर्नुभयो भने बाँकी १२ लाख रुपैयाँ आलु र अन्य फलफूल खेती बाट प्राप्त गर्नुभयो । ३० रोपनी जग्गा लाई हराभरा व्यावसायिक कृषि फार्ममा बदल्नुभएका आर.सीले कृषि विकास कार्यालय लाई ५ लाख र राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना लाई १० लाख बराबरको उच्च गुणस्तरको बिउ बिक्री गर्नुभएको छ । उहाँको सफलताको चर्चा अहिले गाउँ देखि सहर सम्म हुने गरेको छ ।
आफ्नो सफलताको सूत्र सुनाउँदै आर.सी. बताउनुहुन्छ, विदेश जाने भनेको काम गर्न नचाहेर वा आफ्नै देशको माटोको शक्ति नबुझेर मात्रै हो । जाँगर चलाउने हो भने यहीँको माटोमा सुन फल्छ । उहाँले थप्नुभयो, यही माटोको कमाइले आज सुर्खेतमा भव्य घर, १० वटा घडेरी र दुईवटा गाडी जोड्न सफल भएको छु, मलाई लाग्छ यो कुनै पनि वैदेशिक रोजगारीको कमाइ भन्दा उच्च छ । उहाँले कृषि विकास कार्यालयले फलफूल बगैँचा स्थापना देखि सिँचाइका पोखरी र पाइपलाइन सम्म पु¥याएको प्राविधिक र आर्थिक सहयोगको खुलेर प्रशंसा गर्नुभयो ।
गुराँस गाउँपालिका वडा नं. ५ मा रहेको ’लहरा बस्ती’ अहिले बिउ आलुका लागि जिल्लाभर मात्र नभई कर्णाली प्रदेश भरिकै एक चम्किलो ’ब्रान्ड’ बनेको छ । यहाँ उत्पादन हुने बिउको गुणस्तर यति उत्कृष्ट छ कि कृषकहरूले बजार खोज्दै भौँतारिन ुपर्ने अवस्था छैन, बरु ग्राहकहरू खेतमै आइपुग्छन् ।
विगत २२ वर्षदेखि यही माटोमा रमाउँदै आउन ुभएकी प्रतीक्षा राना बीसीको अनुभवमा यहाँको बिउको माग दैलेखका ११ वटै स्थानीय तहमा उच्च छ । उहाँले वार्षिक १७ क्विन्टल बिउ आलु रोप्नुहुन्छ, जस बाट ८० देखि ९० क्विन्टल सम्म उत्पादन लिने गर्नुभएको छ । आलु सँगै उहाँले काउली, बन्दा र केराउ खेती लाई पनि व्यावसायिक रूपमा अगाडि बढाउनु भएको छ, जस बाट वार्षिक १० लाख रुपैया ँभन्दा बढी आम्दानी हुने गरेको छ ।
तर, सफलताका बीच केही भौतिक चुनौतीहरू बाँकी रहेको उहाँ बताउनुहुन्छ । बीसीले भन्नुभयो, हाम्रो उत्पादन लाई सबैले राम्रो मान्नुहुन्छ, तर उत्पादन बोकेर गाडी पुग्ने सडक सम्म पु¥याउन निकै सास्ती छ । सडक र सिँचाइको उचित प्रबन्ध भइदिए हामी उत्पादन लाई अझै व्यापक बनाउने थियौँ ।
किसानहरूको यो लोभ लाग्दो मेहेनत र गाउँमै भइरहेको आम्दानीको चर्चा चुलिए पछि कर्णाली प्रदेश सरकारका सामाजिक विकास समितिका सभापति पूर्णबहादुर खत्रीले यही वैशाख १२ गते लहरा बस्तीको स्थलगत अनुगमन गर्नुभएको छ । किसानहरूले आफ्नै गाउँमा उदाहरणीय काम गरेको थाहा पाउन साथ उहाँ जिल्लाका कृषि सँग सम्बन्धित सरोकारवाला निकाय, प्राविधिक र विज्ञहरूको टोली लिएर किसानको खेतबारीमै पुग्नुभएको थियो ।
अनुगमनका क्रममा किसानहरूका समस्या, गुनासो र मागहरू लाई नजिक बाट सुन्नु भएका सभापति खत्रीले किसानहरूको मेहेनत देख्दा आफू निकै प्रभावित भएको बताउनुभयो । उहाँले भन्नुभयो, तपाईंहरूले जमिन लाई सुनमा बदल्नु भएको छ, यो सिंगो कर्णालीका लागि गौरवको विषय हो । किसानका कुरा सुनिसके पछि उहाँले कृषिका पूर्वाधार, सडक र सिँचाइमा देखिएका समस्या समाधान गर्न आफूले प्रदेश सरकारको तर्फ बाट सके सम्म पहल गर्ने र वास्तविक किसानको पसिनाको कदर हुने गरी योजनाहरू ल्याउने प्रयास गर्ने प्रतिबद्धता जनाउनुभयो ।

बिउ आलु उत्पादनमा अर्का चम्किला पात्र हुनुहुन्छ, विराज राना उहाँले सरकारी कार्यालय र विभिन्न कृषि परियोजनाहरू लाई मात्रै लाखौँको बिउ बिक्री गर्नु हुन्छ । उहाँको वार्षिक कारोबार करिब ३५ लाख रुपैयाँ बराबरको छ ।
त्यसैगरी, विगत २५ वर्ष देखि निरन्तर कृषि कर्ममा होमिनु भएका विनोद बहादुर रोकायको कथा पनि उत्तिकै प्रेरणादायी छ । सुन्तला र आलुको मिश्रित खेती बाट उहाँले वार्षिक १० लाख भन्दा बढी बचत गर्नुहुन्छ । उहाँले विगतका दुःखका दिनहरू सम्झँदै भन्नुभयो, “पहिले हामी बिउका लागि महँगो मूल्य तिरेर नेपालगन्ज धाउनु पथ्र्यो । तर अहिले हामी आफैँले गाउँमै सस्तो र गुणस्तरीय बिउ उत्पादन गरेर अरू लाई वितरण गरिरहेका छौँ, यसले हामी लाई आत्म सन्तुष्टि दिएको छ ।“ रोकायले पनि कृषिकै आम्दानी बाट सुर्खेतमा घर र ७ वटा घडेरी जोड्न सफल भएको जानकारी दिनुभयो ।
कृषि विकास कार्यालय दैलेखका निमित्त प्रमुख दशरथ पाण्डेले किसानहरूको यो सक्रियताले कार्यालयको शिर उँचो बनाएको बताउनुभयो । उहाँका अनुसार वास्तविक किसानको पहिचान गरेर प्रोत्साहनको लागि कृषि बाट हुने प्राविधिक सहयोग मात्र गर्दा पनि यति ठूलो नतिजा निस्कनु सुखद पक्ष हो । पाण्डेले थप्नुभयो, “युवाहरू मलेसिया वा खाडीमा पसिना बगाउन जानु भन्दा आफ्नै गाउँमा व्यावसायिक बन्ने हो भने मुलुक समृद्ध हुन समय लाग्दैन ।“ कार्यालयले किसानहरूको सुविधाका लागि २५ लाख रुपैयाँको अनुदानमा बिउ भण्डारण भवन समेत निर्माण गरिदिएको छ । गुराँस गाउँपालिका वडा नम्बर ४ र ५ मा कृषि विकास कार्यालयले बिउ लाई सुरक्षित राख्न २५, २५ लाखको विउ भण्डारण भवन बनाइदिएको छ ।
कृषि विज्ञ झलक भण्डारीले यस लाई स्वास्थ्य र समृद्धि सँग जोडेर हेर्नु पर्ने बताउनुभयो । उहाँले भन्नुभयो, आफ्नै जग्गामा फलेको अर्गानिक उपजले जनस्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ र क्यान्सर जस्ता घातक रोगबाट बच्न सहयोग गर्छ । गुराँसका कृषकहरूले स्वास्थ्य र आम्दानी दुवैलाई सँगै लैजानुभएको छ ।
अहिले यहाँका सुन्तला र आलुले सुर्खेत, दैलेख, चुप्रा र डुङ्गेश्वर लगायतका ठूला बजारहरूको माग धानि रहेका छन् । किसानहरू करोड पति मात्र बन्नु भएको छैन, उहाँहरूले समाज लाई हेर्ने दृष्टिकोण नै परिवर्तन गरिदिन ुभएको छ । गुराँस र डुङ्गेश्वरका यी पौरखी किसानहरूको सफलताले एउटै सन्देश दिएको छ— पसिना बगाउन जान्ने हो भने आफ्नै गाउँको माटोले सुनको फल दिन्छ । प्रदेश सरकार र सरोकारवाला निकायले सडक र सिँचाइको समस्या लाई समयमै सम्बोधन गरि दिने हो भने लहरा बस्तीको यो खुसी अझै धेरै गुणा फैलिने निश्चित छ ।


नवीन रिजाल

