घोराही , राष्ट्रिय जनमोर्चा दाङको पाँचौं जिल्ला सम्मेलन आउँदो जेठ १२ र १३ गते घोराहीमा हुने भएको छ ।
राजमो दाङको बैठकले सम्मेलनको मिति निर्धारण गरेको हो । ‘गणतन्त्र, धर्मनिरपेक्षता तथा राष्ट्रियताको रक्षा गरौं, महंगी, भ्रष्टाचार तथा सबै खाले बेथितिविरुद्ध पाँचौं जिल्ला सम्मेलन सफल पारौं’ भन्ने नारासहित सम्मेलनको आयोजना गरिने भएको हो । बैठकले जिल्ला सम्मेलन सफल पार्न विभिन्न उपसमितिहरु निर्माण गरेको अध्यक्ष गणेश आचार्यले जानकारी दिनुभयो ।
जिल्ला अध्यक्ष गणेश आचार्यको संयोजकत्वमा १३ सदस्यीय मूल व्यवस्थापन समिति गठन गरिएको छ । यसैगरी जिल्ला सचिव वसन्त पौडेलको संयोजकत्वमा १५१ सदस्यीय प्रचार प्रसार उपसमिति, कोषाध्यक्ष श्यामलाल पोख्रेलको संयोजकत्वमा नौ सदस्यीय आर्थिक उपसमिति, उपाध्यक्ष महेश रिजालको संयोजकत्वमा पाँच सदस्यीय अतिथि सत्कार उपसमिति र सदस्य खडानन्द खनालको संयोजकत्वमा तीन सदस्यीय आवास तथा मेस व्यवस्थापन उपसमिति गठन गरिएको छ ।
जिल्ला सम्मेलनअघि वैशाख १० भित्र वडा तथा पालिका भेला, सम्मेलन गरिसक्ने निर्णय पनि बैठकले गरेको छ । घोराहीमा वैशाख १३ गते, लमहीमा वैशाख १६ गते, गढवा वैशाख २२ गते, राप्ती र तुलसीपुरमा वैशाख २३ गते, बंगलाचुली र राजपुरमा वैशाख २५ गते, बबई, दंगीशरण र शान्तिनगरमा भने पछि मिति तय गरेर भेलाको कार्यक्रम गरिने भएको छ । चैत २४ गते लमहीमा जनआन्दोलन दिवस मनाउने निर्णय गरिएको छ ।