आज :

दक्षिण कोरियाबाट हिडेर लुम्बिनी पुगेका दुई सयजना बौद्ध भिक्षुहरु के गर्दै छन् ?

  • अनलाइन डबली

काठमाडौँ  । दक्षिण कोरियाबाट पैदलयात्रामा निस्केका दुई सय जना बौद्ध भिक्षु र तीर्थयात्रीहरू हिजो मंगलबार लुम्बिनीमा पूजा गरी भारततर्फ पुनः फिर्ता भएका छन् । कोरियाली बौद्ध धर्मावलम्बीहरूको टोली बुधबार बिहान कक्रहवा नाका हुँदै भारततर्फ पैदल फर्किएका हुन् । पछिल्लो समय विभिन्न देशबाट बौद्धधर्म गुरु र तीर्थयात्रीहरूको ठूलो समूह बुद्धजन्मस्थल लुम्बिनी आउने क्रम बढेको छ ।

दक्षिण कोरियाको संस्कृति, खेलकुद तथा पर्यटन मन्त्रालय अन्तर्गत दर्ता बौद्धसंस्थाले कोरियाली बौद्ध भिक्षु–भिक्षुणीसहित बौद्ध तीर्थयात्रीहरूलाई पैदलयात्रा गराई लुम्बिनी ल्याएको थियो ।

भारतस्थित बोधगया, शारनाथ, कुशिनगर हुँदै पैदलयात्रीहरु लुम्बिनी आइपुगेका थिए । एक हजार किलोमिटर पैदलयात्रा गरेर कोरियाका अग्रज भिक्षु छासुङ्ग सहितका धर्मगुरु र तीर्थयात्री लुम्बिनी आइपुगेका थिए । फेब्रुअरी ९ तारिखदेखि भारतको नयाँ दिल्लीबाट पैदल हिँडेर तीर्थयात्रा सुरु भएको थियो ।

यसअघि मायादेवी मन्दिरभित्र रहेको बुद्धजन्मस्मारक (मार्कर स्टोन), पवित्र पुस्करणी ताल, अशोक स्तम्भको अवलोकनसँगै मायादेवी प्राङ्गणमा विश्वशान्तिको कामना गर्दै अग्रज भिक्षु छासुङ्गले प्रवचन दिनुभयो ।

कोरियाली भिक्षुहरूको समूहलाई लुम्बिनी विकास कोषले मंगलबार एक भव्य कार्यक्रम गरी स्वागत गरेको थियो ।

कोरियाली बौद्ध तीर्थयात्रीहरूको टोलीले मायादेवी मन्दिरमा विश्वशान्तिको कामना गर्दै प्रार्थना गरेका थिए । पूजा तथा प्रार्थनामा नेपालका लागि कोरियाली राजदूत पार्क चोङ सुकको समेत उपस्थिति रहेको थियो ।

प्रार्थना र पूजा कार्यक्रममा रुपन्देही क्षेत्र नम्बर ५ का सांसद वासुदेव घिमिरेले लामो यात्रा गरेर बुद्धजन्मस्थ लुम्बिनी आउँदा नेपाल र दक्षिण कोरियाबीचको सम्बन्ध थप प्रगाढ बनेको बताउनुभयो ।

उहाँले नेपाल र दक्षिण कोरियाबीच धार्मिक रूपमा मात्रै नभई रोजगारीका हिसाबले पनि जोडिएको उल्लेख गर्नुभयो । नेपालका लागि कोरियाली राजदूत पार्क चोङ सुकले धर्मगुरु सहितका तीर्थयात्रीहरूलाई बुद्धजन्मस्थल मायोदवी प्राङगणमा स्वागत गर्न पाउँदा खुसी लागेको सुनाउनुभयो ।

उहाँले दक्षिण कोरियासँग नेपालको सम्बन्ध बुद्धजन्मस्थल लुम्बिनीले झनै प्रगाढ बनाएको बताउनुभयो । लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्रेयले फागुन महिना भगवान् गौतमबुद्धको जीवनमा निकै ठूलो महत्त्वको भएको बताउनुभयो ।

उहाँले यो महिनामा बुद्धमार्गलाई पछ्याउँदै एक हजार किलोमिटरको दूरी पूरा गरी कष्टसाथ लुम्बिनी आइपुग्नु बौद्धमार्गीका लागि खुसीको क्षण रहेको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal