काठमाडौं । नयाँ राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएका छन् । गठबन्धनको तर्फबाट राष्ट्रपति पदका उम्मेदवार पौडेलले ३३ हजार ८०२ मतभारसहित निर्वाचित भएका छन् । पौडेलले २१४ संघीय सांसद र ३५२ प्रदेश सांसदको मत पाएर निर्वाचित भएका हुन् ।
पौडेलले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चाको मत पाएका थिए ।
नेकपा एमालेको तर्फबाट राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्वाङ पौडेलसँग पराजित भएका छन् । उनले १५ हजार ५१८ मत भार पाए । उनले ९८ संघीय सांसद र १६२ प्रदेश सांसदको मत पाएका छन् ।
संघीय संसद र प्रदेशसभा सदस्यले मतदान गर्ने राष्ट्रपति निर्वाचनमा ३१३ संघीय सांसद र ५१८ प्रदेशसभा सदस्य गरी ८३१ जनाले मतदान गरेका थिए ।
को हुन् रामचन्द्र ?
- विसं. २००१ सालको असोजमा तनहुँको रिस्ती गाविसस्थित बाहुनपोखरामा जन्मेका पौडेल
- २०१७ सालमा राजा महेन्द्रले तत्कालिन प्रधानमन्त्री वीपी कोइराला जेल परेपछि रामचन्द्र राजनीतिमा आएका हुन् । त्यतिबेला उनी १६ वर्षका मात्र थिए ।
- २०३३ वीपी कोइराला सालमा भारतको निर्वासनबाट फर्केपछि उनीसँग निकट रहेर काम गरे पौडेलले । त्यतिबेलादेखि नै पौडेलले पार्टीभित्र समन्यकारी भूमिकाको अभ्यास गर्न थालेका थिए
- २०१८ सालमा नेपाली कांग्रेसद्वारा सञ्चालित सशस्त्र क्रान्तिमा पौडेलले सहभागी भए ।
- २०१९ सालमा स्वतन्त्र विद्यार्थी आन्दोलनका एक अभियन्ताको रुपमा सक्रिए भए ।
- २०२३ सालमा सरस्वती क्याम्पसका विद्यार्थी युनियन सभापति निर्वाचित ।
- २०२४ सालमा उनी प्रजातान्त्रिक समाजवादी युवा लिगको महासचिवमा निर्वाचत ।
- २०२७ सालमा नेपाल विद्यार्थी संघको स्थापनामा पौडेल पनि सहभागी । उनी संस्थापक केन्द्रीय सदस्य बने ।
- २०४० सालमा पौडेललाई कांग्रेसले केन्द्रीय प्रचार समितिको संयोजक ।
- २०४४ सालमा नेपाली कांग्रेसको केन्द्रीय सदस्य ।
- २०४८ को निर्वाचनमा तनहुँ १ बाट संसद सदस्यमा निर्वाचित ।
- २०४९ मा उनी स्थानीय विकास तथा कृषि मन्त्री ।
- २०५१ सालको मध्यावधि चुनावमा तनहुँ २ बाट निर्वाचित ।
- २०५१ सालको प्रतिनिधिसभामा सभामुख निर्वाचित ।
- २०५६ सालमा तनहुँ २ बाट संसद सदस्यमा तेस्रो पटक निर्वाचित ।
- २०५७ सालमा उपप्रधानमन्त्री, गृह तथा सञ्चारमन्त्री ।
- २६२ सालमा कांग्रेस महामन्त्री भए ।
- २०६३ सालमा माओवादी शान्ति प्रक्रियामा आएपछि पौडेल शान्ति सचिवालयाको संयोजक ।
- २०६३ सालमा उनी शान्ति तथा पुनर्निमाण मन्त्री ।
- २०६४ सालमा उनी नेपाली कांग्रेसको उपसभापति ।
- २०६४ संविधानसभा चुनावमा तनहुँ २ बाट चौथोपटक निर्वाचित ।
- २०६५ सालमा उनी नेपाली कांग्रेस संसदीय दलको नेतामा निर्वाचित ।
- २०७० मा सम्पन्न संविधान सभाको दोस्रो निर्वाचनमा तनहुँ २ बाट पाचौंपटक निर्वाचित ।
- २०७९ मा तनहुँबाट पुनः निर्वाचित ।
- २०७९ फागुन २५ मा राष्ट्रपतिमा निर्वाचित ।