काठमाडौं । टर्कीमा भूकम्पपछि बेपत्ता भएका फुटबलर क्रिस्चियन एत्सु मृत्त अवस्थामा फेला परेका छन् । भूकम्प गएको करिब दुई सातापछि उनको शव भग्नावशेषमुनि भेटिएको हो । एत्सुका एजेन्टले उनको मृत्युको पुष्टि गरेका छन् ।
भूकम्पपछि उनी गत फेब्रुअरी ६ गतेदेखि बेपत्ता थिए । उनको अपार्टमेन्ट पनि भूकम्पमा भत्किएको थियो । क्रिस्चियन एत्सुको क्लब ह्याटेसपोरले सुरुमा उनलाई उद्धार गरिएको तर चोटपटक लागेको बताएको थियो ।
एत्सु सेप्टेम्बर २०२२ मा ह्याटेसपोर क्लबमा आबद्ध भएका थिए भने ५ फेब्रुअरीमा सुपरलिगा खेलमा विजयी गोल गरेका थिए।
उनका एजेन्ट नाना सासियरले शनिबार ट्वीट गरेका छन्, ‘धेरै गहिरो दुस्खका साथ आज बिहान क्रिस्चियन एत्सुको शव भेटिएको जानकारी गराउन चाहन्छु। उहाँको परिवारसँग मेरो समवेदना छ।’
दक्षिणी टर्की र उत्तरी सिरियामा गएको भूकम्पमा परी ४० हजारभन्दा बढीको मृत्यु भएको छ ।