काठमाडौँ । राष्ट्रिय सभाको उपाध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र) की सांसद उर्मिला अर्याल निर्विरोध निर्वाचित भएको घोषणा गरिएको छ ।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अर्यालको मात्रै उम्मेदवारी परेकोले सोमबार अर्याल निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन् ।
आज बसेको राष्ट्रिय सभा बैठकमा तिमिल्सिनाले भने, ‘सभाका माननीय सदस्य उर्मिला अर्याललाई राष्ट्रिय सभाको उपाध्यक्ष पदमा निर्वाचित गरियोस् भनि एउटा मात्रै प्रस्तावको सूचना प्राप्त भएकाले राष्ट्रिय सभा नियमावली २०७५ को नियम ८ बमोजिम सभाका माननीय सदस्य उर्मिला अर्याललाई राष्ट्रिय सभाको उपाध्यक्ष पदमा निर्विरोध निर्वाचित हुनुभएको घोषणा गर्दछु ।’
नवनिर्वाचित उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रिय सभालाई प्रभावकारी बनाउन भूमिका खेल्ने बताएकी छन् । संचारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै अर्यालले राष्ट्रिय सभालाई प्रभावकारी बनाउन भूमिका खेल्ने बताएकी हुन् । उनले राष्ट्रिय सभामा महिला सांसदहरूबीचको सहकार्यलाई विकास गर्दै जाने पनि बताइन् ।


अनलाइन डबली




