काठमाडौँ । नेपाल राष्ट्र बैंकका संस्थापक गभर्नर हिमालयशमशेर जबराको ९५ वर्षको उमेरमा निधन भएको छ । स्वास्थ्यमा समस्या देखा परेपछि काठमाडौंस्थित नर्भिक अस्पतालमा भर्ना गरेर उपचार सुरु गरिएको थियो ।
तर, स्वास्थ्यमा सुधार नभएपछि राणाको आइतबार बिहान साढे ६ बजे निधन भएको नेपाली काँग्रेसका नेता सुनीलबहादुर थापाले बताए । थापा जबराका ज्वाईं समेत हुने ।
थापाका अनुसार राणाको आजै पशुपति आर्यघाटमा अन्त्यष्टि गरिने छ । अस्पतालबाट श्रद्धाञ्जलीका लागि थापाथलीस्थित घरमा लगिएको थियो ।
राणा विगत ५ वर्षदेखि पार्किन्सन्सको समस्याबाट पीडित थिए ।
जबरा सन् १९२८ मा स्वस्थानी पूर्णिमाका दिन जन्मिएका थिए । निधन पनि स्वस्थानी पूर्णिमाकै दिन भएको छोरी संगीता थापाले सामाजिक संजालमा लेखेकी छन् ।
जबराले संयुक्त राष्ट्रसंघ विकास कार्यक्रमअन्तर्गत रहेर सन् १९६२ देखि १९८६ सम्म विभिन्न देशहरूमा प्रतिनिधिको रुपमा काम गरेका थिए । राणा पूर्वअर्थसचिव समेत भएका थिए । उनले नै हिमालयन बैंकका स्थापना गरेका थिए ।