
धनगढी । सुदूरपश्चिम प्रदेशसभाले आज सभामुख पाउने भएको छ । दोस्रो पटकसम्म चुनाव हुँदा पनि सभामुख चयन हुन सकेको थिएन । संविधानले दिएको समय सीमा भित्र सभामुख चयन गर्न असफल भएको सुदूरपश्चिम प्रदेशसभाले १६ औं दिनमा सभामुख पाउने भएको हो ।
यसअघि २८ पुस र ३० पुसमा भएको निर्वाचनबाट कुनै पनि उम्मेदवारले बहुमत ल्याउन नसकेपछि सभामुख चयन हुन सकेको थिएन ।
गठबन्धनबाट माओवादी केन्द्रका भीम भण्डारी र नेपाली कांग्रेसका मानबहादुर रावल उम्मेदवार छन् । २८ पुसमा भएको निर्वाचनमा नागरिक उन्मुक्ति र एमालेका १-१ सांसद अनुपस्थित र एउटा मत बदर भएपछि भण्डारीलाई बहुमत पुगेको थिएन ।
३० पुसमा भएको चुनावमा नागरिक उन्मुक्ति तटस्थ बसेपछि दुबै उम्मेदवारले २२/२२ मत मात्रै पाए । जबकी सभामुखको लागि २७ सांसदको मत चाहिन्छ । सुदूरपश्चिम प्रदेशसभामा ५३ सदस्य छन् ।
नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता चौधरी श्रेष्ठले सुदूरपश्चिम प्रदेशको सभामुख चयनमा सत्तारुढ दललाई समर्थन गर्न निर्देशन दिइसकेकी छन् । केन्द्रको निर्देशन नमानेपछि सोमबार धनगढी पुगेरै अध्यक्ष श्रेष्ठले माओवादी उम्मेदवार भण्डारीको पक्षमा मतदान गर्न निर्देशन दिएकी थिइन् ।
यो निर्देशन नागरिक उन्मुक्तिको प्रदेसले माने आज माओवादीका भण्डारी सभामुख हुने पक्का निश्चित छ ।