
धनगढी । नेकपा (माओवादी केन्द्र) ले सुदूरपश्चिम प्रदेशसभा संसदीय दलको नेतामा खगराज भट्ट सर्वसम्मत चयन गरेको छ । आइतबार बसेको संसदीय दलको बैठकले भट्टलाई सर्वसम्मत चयन गरेको प्रदेशसभा सदस्य तथा उपाध्यक्ष अक्कलबहादुर रावलले जानकारी दिए ।
पार्टीका प्रदेश इन्चार्ज तथा स्थायी कमिटी सदस्य भट्टलाई दलको नेता चयन गर्ने प्रस्वताव गरेको थियो । शनिबार बसेको प्रदेश पदाधिकारी बैठकले पनि भट्टलाई सर्वसम्मत चयन गर्न उपयुक्त हुने सुझाव दिएको थियो ।
शनिबार नै सर्वसम्मतीको प्रयास गरिएको थियो । तर, नेताहरुले आजसम्मको समय माग गरेका कारण शनिबार बैठक स्थगित भएको थियो ।
दलको नेतामा चयन भएसँगै पार्टीको तर्फबाट मुख्यमन्त्रीका उम्मेदवार समेत बनेका छन् । सुदूरपश्चिम प्रदेश गठबन्धनमा माओवादीको भागमा परेमा भट्ट नै मुख्यमन्त्री हुने निश्चित भएको छ । भट्ट डेडेल्धुराको प्रदेशसभा (क) बाट निर्वाचित भएका थिए ।