काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सरुवा–बढुवा माग्दै नेताहरुको घर घर पुगेको थाहा पाए कारबाही गर्ने बताएका छन् । नक्सालस्थित प्रहरी प्रधान कार्यालय निरीक्षण गर्दै लामिछानेले प्रहरी कर्मचारीका लागी सेवा सुविधा बढाउन आफू लागिपर्ने बताए ।
लामिछानेले करिब २० मिनेट लिखित भाषण मार्फत प्रहरी अधिकृतहरूलाई नेताका घरमा धाएर सरुवा नहुने चेतावनी दिएका छन् ।
‘सरुवा र बढुवाको कुरा लिएर नेताका घर घर जाने कुरा अन्त्य गरिनेछ, हाम्रोभन्दा पनि राम्रो मान्छे प्राथमिकतामा पर्नेछन् ।’ गृहमन्त्रीले भने–‘अब नेताका घरमा धाएर सरुवा हुँदैन ।’
आफूले प्रहरीभित्रका विकृति राम्ररी बुझेको बताउँदै उनले भने, ‘गलत क्रियाकलाप भएको पाइए कसैको कुरा सुन्ने छैन ।’ उनले आफूले पनि कुनै कुरामा दबाब नदिने बताउँदै सबै कुरा कानूनले बाँधेर गर्ने बताए । उनले प्रहरीको सेवा, सुविधा, रासन र तलब स्केल सबैको पुनरावलोकन गर्ने पनि बताए ।
उनले राम्रो काम गर्नेलाई पुरस्कृत र प्रहरीका आचरण विपरितका क्रियाकलाप गर्नेलाई दण्डित गर्ने पनि बताए । उनले भने, ‘हिजोका दिनमा जे–जे भए भए, आगामी दिनमा कसैले पनि कानूनी विपरितका क्रियाकलाप नगरोस्, विकृति विसंगतिका अन्त्य गर्छु ।’


अनलाइन डबली


