
काठमाडौं । नेपाली कांग्रेसले निर्वाचनको प्रक्रियाद्वारा संसदीय दलको नेता छान्ने भएको छ । त्यसको लागि आज उम्मेदवारी दर्ता गरिँदैछ । निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिका अनुसार आज बिहान ८ देखि १० बजेसम्म उम्मेदवारको लागि दरखास्त दिने समय तोकिएको हाे ।
संयोजक भीष्मराज खाङ्देम्बेका अनुसार दिउँसो ३ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । उम्मेदवारी दर्ता शुल्क ५१ हजार तोकेको छ । संसदीय दलको नेता चयनको लागि बुधबार मतदान हुँदै छ । बुधबार बिहान ८ देखि १० बजेसम्म मतदान तालिका छ ।
गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचन प्रत्यक्ष र समानुपातिकतर्फको नतिजापछि कांग्रेसले विधानअनुसार दल नेता चयन प्रक्रिया थालेको हो ।
कांग्रेसले प्रतिनिधिसभामा ८९ सिट जितेको छ । उनीहरू ‘दलको नेता छान्ने प्रक्रिया’मा सहभागी हुन पाउनेछन् भने उनीहरूको नाम मतदाता सूचीमा प्रकाशित भइसकेको छ ।
संस्थापन पक्षबाट सभापति शेरबहादुर देउवा संसदीय दलको नेताको उम्मेदवार बन्दै छन् भने इतर समूहमा शेखर कोइराला र गगन थापा दुवैको दाबी कायमै छ ।