काठमाडौं । दोलखाको पछिल्लो मत परिणाम अनुसार नेकपा माओवादीका उम्मेदवार गंगा कार्की दोब्बर भन्दा पनि बढीले मतले अग्रता कायमै राखेका छन् । विहीबार राति ९ बजेबाट सुरु भएको मत गणनामा कार्कीले सुरुदेखि अग्रता लिएका थिए ।
शुक्रबार विहानसम्मको मत परिणाम अनुसार कार्कीले २ हजार ३३९ मत पाएका छन् । सुरुदेखि दोब्बर मतले पछि परेका नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले ९३२ मत पाएका छन् । शिवाकोटी १ हजार ४०७ मत अन्तरले पछि छन् । हालसम्म ३६६७ मत गणना भइसकेको छ ।
यसैगरी प्रदेश सभा १ मा पनि गठबन्धनकै उम्मेदवारले अग्रता लिएका छन् । नेपाली कांग्रेसका उम्मेदवार कुन्दनराज काफ्लेले १ हजार ६६३ मत पाएका छन् । नेकपा एमालेका उम्मेदवार नरबहादुर श्रेष्ठले १०५४ मतसहित पछ्याइरहेका छन् ।
प्रदेश २ मा भने नेकपा एमालेका उम्मेदवार भरतबहादुर केसी अगाडि छन् । केसीले २ हजार १७६ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार बर्मा लामाले १ हजार ८०१ मत पाएका छन् ।
प्रतिनिधि सभातर्फ एकमात्र निर्वाचन क्षेत्र रहेको दोलखामा मंसिर ४ गते भएको निर्वाचनमा धाँधली भएपछि मंसिर १५ गते बिहीबार पुनः मतदान भएको थियो । त्यसको मतगणना गएरातिदेखि जारी छ ।
प्रतिनिधिसभाका बाँकी ३ सिटमै गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् । बाजुरामा नेपाली काँग्रेस नेता बद्र पाण्डे र स्याङजा २ मा धनराज गुरुङले पनि अग्रता कायमै राखेका छन् ।
बाजुरामा हिजो बेलुकादेखि मतगणना सुरु भएको हो । पछिल्लो विवरण अनुसार कांग्रेसका बद्रि पाण्डेले ५ हजार १०६ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका नेता कर्ण थापाले ३ हजार ९९४ मतसहित पछ्याइरहेका छन् ।