
काठमाडौँ । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले काठमाडौं उपत्यकाका सुकुम्वासी समस्या समाधान गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले संयोजन गर्नुपर्ने बताएका छन् ।
काठमाडौं महानगरपालिकाले थापाथली क्षेत्रमा रहेका सुकुम्वासी बस्ती हटाउन खोजे पनि अवरोध भएपछि भट्टराईले तत्कालै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले संयोजन गरेर सहजीकरण गर्दा राम्रो हुने बताएका हुन् ।
उनीहरूको व्यवस्थापनको उत्तम विकल्प नागार्जुन नगरपालिकामा बनाइएको अपार्टमेन्ट रहेको उनको भनाइ छ ।
सामाजिक सञ्जालमा लेख्दै भट्टराईले भनेका छन्, ‘आवासविहीन सुकुमबासीको संवेदनशील प्रश्नमाथि कसैले छुद्र राजनीति नगरौँ । मेरो पालामा सुरु भएको काठमाडौं उपत्यकाका सुकुम्वासी र न्यून आय भएका नागरिकको आवास व्यवस्थासम्बन्धी सरकारी निर्णय र भवन निर्माणका कार्यमा टेकेर यो समस्या दीर्घकालीन रूपले समाधान गर्न राज्यका सबै अंगले सहकार्य गरून् । मेरो पालामा झैँ तत्कालै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले संयोजन गरेर यो मामिलामा सहजीकरण गर्दा हुन्छ ।’
यता काठमाडौँ महानगरका मेयर बालेन शाहले नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई कसैका विरुद्धमा कसैलाई प्रयोग गर्ने कुचेष्टा नगर्न चेतावनी दिएका छन् ।
एमाले अध्यक्ष ओलीले सुकुम्वासी बस्तीमा महानगरले डोजर चलाएर तामासा गरेको टिप्पणी गरेपछि मेयर शाहले सो कुरा बताएका हुन् ।
ओलीले मंगलबार पार्टी मुख्यालयमा आयोजित कार्यक्रममा भनेका थिए–‘सुकुम्वासी बस्तीमा तमासा गरियो । त्यहाँ तमासा गर्ने हाकिमहरूको भनाई पुलिसले हामीलाई मद्दत नै गरेन नत्र हामी जित्थ्यौँ । तिनीहरूलाई पराजित गर्थ्यौँ हामी । त्यो बस्ती ध्वस्त बनाउँथ्यौँ हामी । शत्रु देशसँगको लडाइँको जस्तो तरिका, भाषा । त्यहाँ कुन शत्रु बसेका छन् ? गरिब गुरुवा बसेका छन् । ती कुनै शत्रु त हैनन् । सरकारले सहयोग गरेन, पुलिस समयमा आएको भए ठिक लगाइन्थ्यो के भन्या त्यो । चुप लागेर खोलाको किनारमा छाप्रामा बसेकालाई ठिक लगाएर कुन बहादुरी पाइन्छ ?’
जवाफमा शाहले सामाजिक सञ्जालमा चेतावनी दिएका छन्,
”सम्माननीय पुर्वप्रधानमन्त्री केपी ओलीज्यू,
अधिकारसम्पन्न बागमती सभ्यताको आग्रह र समन्वयमा काठमाण्डौ महानगरले आफ्नो जिम्मेवारी पुरा गर्दै गरेको कार्यप्रति तपाईको धारणा थाहा पाएँ । तपाईबाट नै यस्तो धारणा आउनु सामान्य बिषय हो ।
किनभने, २०४७ यता १४ वटा आयोग गठन हुँदा पनि काठमाण्डौको सुकुम्वासी समस्या समाधान गर्न सक्नु भएन । मन्त्री र पटक पटक त्यो पनि दुईतिहाइको सरकारको प्रधानमन्त्रीसम्म हुनु भयो तर सुकुम्वासीले भोगेको ३२ वटा जाडो देख्नु भएन ।
सुकुम्वासीहरु तपाईका लागि भोट बैंक मात्रै रहे । बरु तिनलाई गुठी आन्दोलन जस्ता आफ्नो स्वार्थ विपरितका कुराहरुमा प्रयोग गर्नु भयो । त्यो पनि राजनीतिक स्वार्थवश् ।
तपाईलाई जनता, नदीनाला र नेवा सभ्यताको त्यत्रो माया भएको भए तपाईको नेतृत्वमा लुँहिटी (सुनधारा) सक्काएर सेतो टावर किन ठड्याउनु भयो ?
हुनमान ढोकाको पुनर्निर्माणमा नेवा सभ्यताको मौलिकता नासेर विदेशीलाई निर्माण गर्न दिने कार्यलाई कसरी अगाडी बढाउनु भयो ? यी सबै हेर्दा नेवा सभ्यता जोगाउने, नदिक्षेत्रको अतिक्रमण रोक्ने कार्यको तपाईले बिरोध गर्नु असामान्य होइन ।
तर अब परिस्थिति फेरिएको छ । यसैले सकेको सहयोग गर्नुहोला तर कसैका विरुद्धमा कसैलाई प्रयोग गर्ने कुचेष्टा नगर्नुहोला ।”