काठमाडौँ । मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना अन्तिम चरणमा छ।
१६५ क्षेत्रमध्ये हालसम्म १६१ क्षेत्रको परिणाम सार्वजनिक भइसकेको छ। ३ क्षेत्रको गणना अझै सुरु भएको छैन भने सुनसरी क्षेत्र नम्बर ४ को मतगणना जारी छ।
दोलखाका केही केन्द्रमा भने मंसिर १५ मा मतदान हुँदैछ। बाजुरा र स्याङ्जा–२ को मतगणना भने सुरू हुन सकेको छैन।
मतगणना जारी रहेको सुनसरी–४ मा नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्की र नेकपा एमालेका उम्मेदवार जगदीशप्रसाद कुसियैतबीच कडा प्रतिस्पर्धा चलिरहेको छ।
दुई दिन रोकिएर पुनः सुरू भएको मत गणनामा कार्कीले एमाले उम्मेदवार जगदीश कुसियैतलाई ३२८ मतले पछि पारेका छन्।
निर्वाचन आयोगका अनुसार पछिल्लो मत परिणाम अनुसार कार्कीले २६ हजार ५६३ मत ल्याउँदा कुसियैतको २६ हजार २३५ मत आएको छ।
यो क्षेत्रमा सुरुदेखि नै कांग्रेस र एमाले उम्मेदवारको कडा टक्कर देखिएको छ। यता पाँचथरबाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका उम्मेदवार बसन्तकुमार नेम्वाङ निर्वाचित भएका छन्।
प्रत्यक्षतर्फका केही मतपत्र समानुपातिक मतपेटिकामा फेला परेपछि यहाँ निर्वाचन आयोगले कसैलाई पनि निर्वाचित भएको घोषणा गरेको थिएन।
समानुपातिकतर्फका मत गणना सकेपछि मंगलबार बेलुकी एमालेका बसन्तलाई मुख्य निर्वाचन अधिकृत कार्यालयले विजयी भएको प्रमाणपत्र दिएको छ।
चार दिनअघि प्रत्यक्षतर्फको मतपेटिकाका मत गणना गर्दा नेम्वाङ नेपाली कांग्रेसका उम्मेदवार भीष्मराज आङदेम्बेभन्दा ४७ मतान्तरले अघि थिए।
तर समानुपातिक मतपेटिकामा पनि भेटिएका मतहरू गणना गर्दा नेम्वाङ ४६ मतान्तरले विजयी भएका छन्। नेम्वाङले ३२ हजार १ सय ३५ मत ल्याए भने भीष्मराजले ३२ हजार ८९ मतमात्रै ल्याएका छन्।
यहाँ राप्रपाका उम्मेदवार कमलबहादुर चेम्जोङले १ हजार २ सय ७४ मत ल्याए भने संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका जसबहादुर योङहाङले एक हजार ११ मत ल्याएका छन्।


अनलाइन डबली

