काठमाडौँ नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्री चर्चाको आइरहने पात्र हुन् ।
एकपटक मन्त्री समेत भएकी झाँक्री सत्तामा हुँदा होस् या पार्टी जीवनमा हुँदा नै किन नहोस् चर्चाको पात्र रहिरहिन् । उसो त उनी सत्तामा हुँदा आलोचित पनि नभएकी होइनन् । माधवकुमार नेपालले एकीकृत समाजवादी गठन गरेपछि सो पार्टीतिरै लागेकी रामकुमारी यतिबेला फुर्सदमा छिन् ।
फुर्सद यसकारण कि उनी गुल्मी २ बाट एमालेका गोकर्ण विष्टसँग पराजित हुन पुगिन् । विजयी उम्मेदवार विजय जुलुससहित गाउँगाउँमा धन्यवाद दिन व्यस्त भइरहेका बेला उनी भने फुर्सदमा रहेकी हुन् ।
यही क्रममा उनले भैरहवा विमानस्थलमा हुँदाको फेसबुकमार्फत एक तस्बिर सार्वजनिक गरेकी छन् । तस्बिरमा एमालेका उपाध्यक्ष विष्णु पौडेल र नेता खिमलाल भट्टराई देखिएका छन् ।
दुई नेताको बीचमा देखिएकी उनले फेसबुकमा फोटोसहित लेखेकी छन्, ‘तस्बिरमा सन्देश छ ।’ उनले के सन्देश हो भन्ने त खुलाएकी छैनन्, कतिपयले झाँक्री फेरि एमालेमा फर्किन लागेको त होइन भन्ने अड्कल काटेका छन् ।
यस विषयमा थप बुझ्न खोज्दा उनले फोन उठाइनन् । उनले भनेजस्तै झाँक्रीले के सन्देश दिन खोजेको हुन् त्यो भने खुल्दै जाला नै ।
स्मरणरहोस्, झाँक्री एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुबाट राजनीतिमा आएकी नेतृ हुन् । झाँकीको तस्विरले नेकपा एसभित्र तरंग उत्पन्न भएको छ ।


अनलाइन डबली

